जागिर लगाईदिन्छु भन्दै ६१ लाख ठगी गर्ने प्रध्यानध्यापक पक्राउ

असार १७, काठमाडौं । आफू कार्यरत विद्यालयमा जागिर लगाइदिन्छु भन्दै ६१ लाख भन्दा बढी रकम ठगी गर्ने एक प्रधानध्यापकलाई इलाका प्रहरी कार्यालय सिमराले पक्राउ गरेको छ ।

बाराको जीतपुरसिमरा उपमहानगरपालिका ८ स्थित सामुदायिक प्राथमिक विद्यालय सगरदिनाका प्रधानध्यापक ४३ वर्षीय अनिल ठाकुरलाई प्रहरीले ६१ लाख १४ हजार पाँच सय रुपैयाँ ठगी गरेको आरोपमा पक्राउ गरेको हो ।

ठाकुर रौतहट माधवनारायण नगरपालिका–६ घर भइ हाल वीरगन्ज महानगरपालिका ३२ विद्यानगरटोलमा बस्दैआएका थिए । आफू प्रधानध्यापक रहेको विद्यालयमा शिक्षकको जागिर लगाइदिने भन्दै ठाकुरले २० जना व्यक्तिबाट प्रतिव्यक्ति दुई लाखदेखि पाँच लाखसम्म ठगी गरेको उजुरी परेपछि पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक गोविन्द पुरीले जानकारी दिए । दुई वर्षदेखि विभिन्न व्यक्तिसँग रकम लिँदैआएका ठाकुरमाथि पीडितले इलाका प्रहरी कार्यालयमा जाहेरी दिएका थिए ।

रकम लिएका व्यक्तिलाई जागिर लगाउन नसकेपछि ठाकुर पछिल्लो समय रकम नभएको बैंकको चेक पीडितलाई दिएर लुकिछिपी बस्दैआएका थिए । जाहेरीका आधारमा ठाकुरलाई खोजी गर्ने क्रममा जीतपुरबाट पक्राउ गरी कारवाही थालिएको प्रहरी नायब उपरीक्षक पुरीले बताएका छन् ।

ठाकुरले आफूमाथि लागेको आरोप प्रारम्भिक बयानका क्रममा स्विकारेको र उनलाई ठगी मुद्दामा बारा जिल्ला अदालतबाट सात दिनको म्याद थपी अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक पुरीले जानकारी दिए । अन्नपूर्णबाट ।