देशभर मनसुन फैलिदै :अधिकांश स्थानमा झरी सहितको बर्षा हुने

काठमाडौँ/बिहीबारदेखि नेपालको पूर्वी क्षेत्र हुँदै शुरु भएको मनसुन आज मध्यक्षेत्रसम्म आइपुगेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार पूर्वी नेपाल हुँदै भित्रिएको मनसुन विस्तारै पश्चिम क्षेत्रसम्म फैलिने क्रममा रहेको छ ।
वर्षा हुने गतिविधि क्रमशः बढ्दै जानेछ । “अबको एक दुई दिनमा मनसुन पश्चिम क्षेत्रसम्म पुग्ने छ”, जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज देशको अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रही पूर्वका धेरैजसो स्थानमा मेघ गर्जनसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । राति देशभर आंशिकदेखि सामान्य बदली रही अधिकांश स्थानमा वर्षा हुने सम्भावना रहेको छ ।

भोलि देशभर आंशिकदेखि सामान्य बदली रही देशको तराईका भू–भागमा र पश्चिमी नेपालमा बिहानीपख मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको छ । दिउँसोपख मध्य भू–भागका केही क्षेत्रबाहेक देशका अन्य भू–भागमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।