क्रिकेट रंगशाला निर्माणमा स्थानीयवासीको पूर्ण सहयोग रहने ।

चितवन । भरतपुर १५, रामपुरमा निर्माणको प्रारम्भिक चरणमा रहेको गौतम बुद्ध अन्तर्रा्ष्ट्रिय क्रिकेट रंगशालाको निर्माणमा गाँउलेहरुको पूर्ण साथ र सहयोग रहने स्थानीय वासिन्दाले बताएका छन् । सडक निकासको माग गर्दै रंगशाला निर्माणस्थल परिसरमा लगाएको जस्तापातासहितको तारबार डोजर लगाएपछी पक्राउ परी गत् शनिबार मात्र हिरासतमुक्त भएका प्रकाश कँडेल र भैंरब बस्ताकोटी लगाएतका स्थानीयवासीले हिजो मंगलबार भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरी रंगशाला निर्माणमा अफुहरुको कुनै बिमती, बिरोध, अबरोध र असहयोग नरहेको बताएका छन् । उनीहरुले बाटोको आफुहरुको माग जायज रहेको भन्दै बार भत्काउनेसम्मको परिस्थीती बन्नु र त्यस यताका घटनाक्रमहरु दुःखदायी भएको बताएका छन् । उनीहरुले रंगशाला निर्माणमा धुर्मुस सुन्तली फाउन्डेसनलाई आफुहरुको साथ र सहयोग रहने बताएका हुन् । पत्रकार सम्मेलनमा बोल्दै स्थानिय युवा नेता प्रकाश कँडेलले भने रंगशाला पूर्णरुपमा निर्माण भइसकेको र त्यसलाई बम हानेर ध्वस्त पारेजस्तो गरी प्रचारबाजी भएको भन्दै खेद व्यक्त गरे ।
पत्रकार सम्मेलनमा डोजर काण्डका मुख्य आरोपी कँडेल र भैरव बस्ताकोटीद्वारा जारी प्रेस विज्ञप्ति बाँडिएको थियो । विज्ञप्तिमा कँडेल र बस्ताकोटीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट निलम्बन गरी कारबाही गरिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ । डोजर काण्डलाई स्थानीय जनताको आवाजलाई बेवास्ता गर्दा सिर्जित वातावरणको उपज भनिएको छ ।
‘स्थानीय जनताको माग अनुरुप डीपीआरसँगै शान्तिचोकदेखि रामपुर बजारसम्मको बाटो बिस्तार एवं कायम गर्ने सहमति भएको खुशी बाँड्न चाहन्छौं’ विज्ञप्तिमा भनिएको छ, ‘विकासलाई स्थानीय जनतासँग जोडी समुन्नत एवं समृद्ध समाज निर्माणमा हाम्रो सदैव साथ रहने छ ।’
यसअघि पनि असन्तुष्ट स्थानीयका नेतृत्वकर्ता प्रकाश कँडेलले प्रहरी हिरासतबाटै विज्ञप्ती निकालेर धुर्मुस सुन्तली फाउण्डेसनलाई निर्माण कार्य अघि बढाउन आग्रह गरेका थिए । कँडेलसँगै रिहा भएका भैरव बस्ताकोटी, धुव्र चापागाईं र सुरेन्द्र विकेद्वारा संयुक्तरुपमा जारी विज्ञप्तिमा रंगशाला प्रकरणमा भएको घटनाप्रति क्षमायाचना गर्दै फाउण्डेसनलाई काम अघि बढाउन आह्वान गरेका थिए ।
आफूहरुले पटकपटक लिखित रुपमै सम्बन्धित पक्षसामु पुगेपछि स्थानीयको मागलाई बेवास्ता गर्दै पेलेर अघि बढ्न खोजेकाले यो घटना घटेको गाँउलेहरुको जिकिर छ । यधपी, आगामी दिनमा यस्ता घटना नदोहो¥याउने उनीहरुले प्रतिवद्धता पनि जनाएका छन् ।
रंगशाला निर्माणस्थलको अस्थायी बार भत्काउने कार्यमा संलग्न भएको आरोपमा प्रहरीले तत्कालै १८ जनालाई पक्राउ गरेको थियो । उनीहरु सबैलाई हाजिरी जमानीमा छाडिसकेको छ । ४ जनालाई गत आइतबार राति र अन्य १४ जनालाई त्यसअघि नै छाडिएको थियो ।