देशभरका गुठी जग्गा अतिक्रमणमा

काठमाडौं, २६ जेठ । देशभर गुठी एवं संस्थाको जग्गा अतिक्रमण बढेको छ। गुठी संस्थानका ७० जिल्लामा जग्गा छन् ।

अधिकांश जिल्लाको गुठी अतिक्रमणमा परेको छ। तर कति अतिक्रमण भयो भन्ने तथ्यांक गुठी संस्थानसँग पनि छैन। संस्थानका प्रवक्ता सरोज थपलिया गुठीको जग्गाको यथार्थ विवरण नभएको स्वीकार गर्छन्। ‘जग्गाको विवरण त छैन अतिक्रमणको तथ्यांक कहाँ हुनु’, उनले भने, ‘तर जताततै गुठीका जग्गा अतिक्रमण भएको छ।’

गुठी संस्थानले संकलन गरेको विवरणअनुसार गुठीको पहाडमा ५ लाख ६१ हजार ९९० र तराईमा ६६ हजार ३३० विघा जग्गा छ। पहाडको होस् वा तराई गुठीको जग्गा अतिक्रमणमा परेको छ। महालेखा प्रतिवेदनले पनि गुठीको जग्गा देशभर अतिक्रमण भएको जनाएको छ। देशभर राजगुठी दुई हजार २८२, गुठीका देवस्थल मठमन्दिर ७१७, पार्टी पौवा ६४७, पोखरी १५९, जात्रा पर्व काठमाडौं उपत्यकामा भित्र २ हजार १३ सूचीकृत भएको गुठी संस्थानले जनाएको छ।

महालेखा प्रतिवेदनअनुसार धनुषामा १७ विघा, महोत्तरीमा ७२ विघा, बारामा २७ विघा, काठमाडौंमा १४ रोपनी, ललितपुरमा १२ रोपनी, पर्सामा ७ विघा, भक्तपुरमा २ रोपनी जग्गा अतिक्रमण भएको छ। यो विवरणभन्दा अझै बढी जग्गा मासिएको हुन सक्ने अनुमान छ। जनकपुरमा मात्रै १० हजार विघा जग्गा अतिक्रमणको चपेटामा परेको तथ्य भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयको नयाँ प्रतिवेदनमा छ।

काठमाडौंमा पनि २ हजारभन्दा बढी रोपनी जग्गा मिचिएको छ। बृहत्तर जनकपुरक्षेत्र विकास परिषद जनकपुरधामबाट प्राप्त विवरणअनुसार राम मन्दिर गुठी, लक्ष्मण मन्दिर गुठी, रत्नसागर गुठी, दशरथ मन्दिर गुठी, हनुमान नगर गुठीलगायतका गुठीका १ हजार १ सय ८८ कित्ता अतिक्रमणमा परेको उल्लेख छ। दाङको नारायणपुरस्थित करिब १ सय ५७ रोपनी जग्गा अतिक्रमणमा परेको संस्थानले जनाएको छ। यो समाचार अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ ।