माथिल्लो कर्णाली जलविद्युत परियोजनामा बम बिस्फोट

अछाम/माथिल्लो कर्णाली जलविद्युत आयोजनाको कार्यालयमा शक्तिशाली बम बिस्फोट भएको छ । अछामको तुर्माखाद गाउँपालिका ३ भैरवस्थानमा रहेको परियोजनाको सम्पर्क कार्यालयमा आज शनिबार बिहान प्रेसर कुकर बम बिस्फोट भएको हो । बम बिस्फोटबाट जलविद्युत परियोजनाको कार्यालय र नजिकैको शौचालय पुर्णरुपमा ध्वस्त भएको छ भने एउटा मोटरसाइकलमा समेत आगजनी भएको छ । बम बिस्फोटको जिम्मा अहिलेसम्म कसैले लिएको छैन । अछाम प्रहरी प्रमुख डिएसपी जनक शाहीका अनुसार बिहानैदेखी घटनास्थल र आसपासका क्षेत्रमा ब्यापक मात्रामा प्रहरी परिचालन गरिएको छ ।
निकै विवादीत उक्त जलविद्युत परियोजनामा यस अघि पनि बम बिस्फोट भएको थियो । नेपाल आफैले बनाउने प्रशस्त सम्भावना हुँदाहुँदै कमिशनको चक्करमा ९ सय मेगावाट क्षमताको उक्त जलविद्युत परियोजना भारतीय कम्पनी जिएमआरलाई दिइएको भन्दै विभिन्न राजनैतिक पार्टीहरुले शुरुबाटै बिरोध जनाउदै आएका थिए