नक्कली लालपुर्जा बनाएर ९२ रोपनी सरकारी जग्गा हाउजिङलाई

नक्कली लालपुर्जाका आधारमा मालपोत कर्मचारीले चन्द्रागिरी नगरपालिकास्थित ९२ रोपनी सरकारी जग्गा हाउजिङ कम्पनीको नाममा पास गरिदिएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरी त्यसमा संलग्न मालपोत कर्मचारीसहित सातजनाविरुद्ध सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
तत्कालीन बाडभन्ज्याङ गाविस–३ स्थित पाताल तथा ठोट्नेखोला र चिसापानी सामुदायिक वन उपभोक्ता समूहले उपभोग गरिरहेको सरकारी जग्गा सुयल हाउजिङ कम्पनीका नाममा पास गरिएको हो । सरकारी मूल्यांकनअनुसार सो जग्गाको मूल्य दुई करोड २१ लाख १० हजार रुपैयाँ रहेको आयोगले जनाएको छ ।

नक्कली जग्गाधनी खडा गरी नक्कली लालपुर्जा बनाएर सरकारी जग्गा निजी कम्पनीका नाममा मालपोत कर्मचारीले जग्गाधनी दर्ता स्रेस्ता खडा गरिदिएका थिए । सुयल हाउजिङका सञ्चालक रामकुमार सुयल थापासमेतले परिपञ्च मिलाई आफ्नै दिदी मीनाकुमारीको नाममा नक्कली जग्गाधनी प्रमाणपुर्जा बनाएका थिए । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।