जताततै बमैबम : देशमा मडारिदै अशान्तीको कालो बादल

नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले आज राजधानीमा श्रृखलाबद्ध बम विस्फोट गराएका छन् । काठमाण्डौंको सुकेधारा, घट्टेकुलो र चन्द्रगिरीमा भएको बम विस्फोटमा परि चार जनाको मृत्यु समेत भएको छ । ति घटनामा घाईते हुनेको सँख्या ८ पुगेको छ।

सुकेघारास्थित एक शैलुन र घट्टेकुलोस्थित एक घरमा बिस्फोट भएको थियो । ति दुबै बिष्फोटमा प्रतिबन्धित नेकपा विप्लव समूहको हात रहेको प्रहरीले जनाएको छ ।
बम बनाउने क्रममा विस्फोट भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जानकारी दिएको छ ।

सुकेधारा विस्फोटमा घाइते भएर ओम अस्पतालमा उपचाररत नेवाः मुक्ति मोर्चाका अध्यक्ष सुरेन्द्र महर्जनले त्यही वयान दिएका छन् । ‘महर्जनले बम बनाउने क्रममा विस्फोट भएको बयान दिएको महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले जानकारी दिएका छन् ।
सुकेधारामा बम बनाउन उनीसहित ६ जनाको समूह सक्रिय थियो । उनीसँगै हरि खड्का, शिव र लडाकू महावीर थिए भने दुईजना भने नयाँ सदस्य रहेको उनले बताएका छन् ।

त्यही क्रममा विस्फोट भएको थियो । सुकेधारा बिस्फोटमा एकजनाको घटनास्थलमै र दुई जनाको ओम अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । मृतकको सनाखत हुन सकेको छैन ।मृतक को–को हुन् भन्ने खुलेको छैन ।

विस्फोटमा शैलुन सञ्चालक जीवकुमार ठाकुर पनि घाइते भएका छन् ।
यता, सुकेधारामा बिस्फोट भएकै समयमा घट्टेकुलोमा पनि विस्फोट भएको छ । विस्फोटमा प्रज्वल शाहीको मृत्यु भएको छ भने रविन केसी घाइते भएका छन् । खुट्टामा चोट लागेका उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

केसी विप्लव समूहसम्वद्ध विद्यार्थी संगठनको त्रिचन्द्र कलेजका इकाई अध्यक्ष भएको खुलेको छ ।
यस्तै चन्द्रगिरी नगरपालिका–३ इँटाभट्टा चोकमा बम विस्फोट भएको छ । प्रेसर कुकर बम बोकेर ल्याउँदै गर्दा भएको विस्फोटमा आकाश लामा घाइते भएका हुन् ।

लगनखेल, ग्वार्को, सातदोबाटो लगायत राजधानीका करिब दर्जनभन्दा बढी स्थानमा पनि शंकास्पद बस्तु भेटिएको छ ।
विप्लव समूहले भोली सोमबार नेपाल बन्द आह्वान गरेको छ । नेपालबन्द सफल पार्न नेकपाले आतंक फैलाएको हुनसक्ने जानकारहरु बताउँछन ।

हाइ अलर्ट रहन निर्देशन

विष्फोटको घटनापछि गृहमन्त्रालयमा आकस्मिक बैठक बसेको छ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले ३ वटै सुरक्षा निकायका प्रमुललाई बोलाएर आकस्मिक छलफल गरेका हुन् ।

गृह स्रोतका अनुसार छलफलमा गृहसचिव प्रेमकुमार राई, नेपाल प्रहरीका प्रमुख सर्वेन्द्र खनाल, सशस्त्र प्रहरी बलका प्रमुख शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी, महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीका प्रमुख डीआईजी शैलेश थापा क्षेत्रीसहित काठमाडौं, भक्तपुर र ललितपुर ३ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी उपस्थित थिए ।
आइतबार दिनभर भएको घटनाबारे गृहमन्त्री थापाले सुरक्षा निकायका प्रमुखसँग जानकारी लिएका थिए ।
लगतै देशैभरका कार्यालयलाई हाइ अलर्टमा राख्न र सुरक्षा स्थिति बजबुत बनाउन निर्देशन समेत दिएका थिए । यता, काठमाडौँको नरेफाँटबाट बम बनाउने सामग्रीसहित नेत्रविक्रम चन्द विप्लवका सात कार्यकर्ता पक्राउ परेका छन् ।

चोक चोक र नाका नाकामा प्रहरी
अहिले प्रहरीले राजधानीको सुरक्षा व्यवस्थाले अत्यन्तै कडा पारेको छ । चोक चोक नाकानाकामा व्यापक रुपमा प्रहरीहरु परिचालन गरिएको छ । वम विस्फोटनका घटनाहरु तथा सुरक्षाकर्मीहरुको बाक्लो तैनाथीले सर्वसाधारणमा त्रासको वातावरण सिर्जना भएको छ । आईतबारको घटनाले देशमा अशान्तीको कालो बादल मडारिदै जान थालेको प्रष्ट संकेत मिलेको देखिन्छ ।