‘गृहमन्त्री बादल विरुद्ध सुनियोजित प्रचार’

७ जेठ, काठमाडौं । अनलाइनखबर डट कम ले ‘नेकपामा नयाँ ट्वीस्ट, बादलले छाडे प्रचण्डको साथ’ भन्ने समाचारलाई गृहमन्त्री रामबहादुर थापा ‘वादल’ का राजनीतिक सल्लाहकार सूर्यप्रकाश सुवेदी ‘पथिक’ ले प्रायोजित समाचारको संज्ञा दिएका छन् ।
उनले आफ्नो फेसबुक स्ट्याटसमा लेखेका छन, ‘इमान्दार र अविवादित नेतालाई अनावस्यक र सुनियोजित तवरले बिवादमा ल्याउने प्रयत्न, यसको बिस्तारमै खण्डन गर्न आवश्यक छ ।’
‘नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकतालाई सुदृढ गर्न नदिन प्रमुख नेता, नेताबीच अविश्वास पैदा गराउन पार्टी एकताका मुख्य सारथी अध्यक्ष प्रचण्ड र केपी ओलीको बीचमा आशंका र दरार पैदा गराउने र पार्टी फुटाउनेहरुको सुनियोजित योजना अनुसार शृङ्खलाबद्ध समाचार आएको हो’ पूर्व माओवादी केन्द्र निकट एक सचिवालय सदस्यले जनाए ।
प्रचण्डको सचिवालयमा रहेका एक सदस्यले नाम नबताउने शर्तमा भने, ‘अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री केपी ओलीका बीचमा अन्तरविरोध नभएको र यसमा कित्ताकाट भएको भन्ने अझ पूर्व माओवादी केन्द्रमा नै फुटाउने गरी आएको समाचारको कुनै तुक छैन ।’
अनलाइनखबर डट कम गृहमन्त्री रामबहादुर थापा ‘वादल’ को विरुद्ध सुनियोजित प्रचार योजनामा निरन्तर लागेकाले उसको समाचारका बारेमा सचेत पाठक प्रष्ट हुँदै गएको गृहमन्त्री वादलको सचिवालयले जनाएको छ ।
राजनीति अजेण्डामा कहिलेकहीं नेताहरुबीच अन्तर हुनु, फुट्नु, जुट्नु सामान्य प्रक्रिया हो, यसबाट कुनै अमुक नेतालाई व्यक्तिगत धोका र फाइदाको कुरा गर्नुको सान्दर्भिकता कतै नभएको पनि गृहमन्त्रीको सचिवालयले जनाएको छ ।