पाँचथरमा ९ जनाको विभत्स हत्या


७ जेठ, पाँचथर । पाँचथरमा ९ जनाको धारिलो हतियार प्रयोग गरी विभत्स हत्या भएको छ । जिल्लाको मिक्लाजुङ गाउँपालिका(३, आरुबोटे भन्ने स्थानमा गएराति दुई परिवारका ९ जनाको हत्या भएको हो । घटनामा परेकी १ बालिका घाइते छिन् ।

जिल्ला प्रहरी कार्यालय, पाँचथरका प्रहरी निरीक्षक अनील पौडेलले एक परिवारको पाँच र अर्को परिवारको ४ गरी ९ जनाको हत्या भएको जानकारी दिए।

हत्या गरिएकामा ४१ वर्षीय धनराज शेर्मा, ६ वर्षीया इक्सा शेर्मा, १३ वर्षीया योवना शेर्मा, आठ वर्षीया मुना शेर्मा र १२ वर्षीया आशिका खजुम लिम्बू छन् । त्यसैगरी, फियाक परिवारका ७४ वर्षीय वमबहादुर फियाक, उनकी श्रीमती तथा ३६ वर्षीया जस्मिता फियाक र २६ वर्षीया मनकुमारी फियाकको पनि हत्या भएको छ ।
१२ वर्षीया सीता खजुम भने भागेर बाँच्न सफल भएकी छन् । उनी गम्भीर घाइते छिन् । प्रहरीका अनुसार, उनलाई उपचारका लागि अस्पताल लगिएको छ ।

मध्यराति घटना भए पनि स्थानीयवासीले बिहान मात्रै थाहा पाएका थिए ।
घटनाबारे जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थलतर्फ लागेको प्रहरी निरीक्षक पौडेलले जानकारी दिए ।

घटनास्थल मिक्लाजुङ पाँचथर सदरमुकाम फिदिमबाट ६५ किलोमिटर दक्षिण पर्छ ।