गोन्द्राङ ढाट जलाउने दोषीलाई कारबाही गर्न सर्वदलीय सहमति


भरतपुर,जेठ ६ / पूर्वपश्चिम राजमार्गअन्तर्गत भरतपुरको गोन्द्राङमा रहेको सडक बोर्ड नेपालको दस्तुर उठाउने ढाटमा गत् शुक्रबार भएको घटनाका दोषीलाई कारबाही गर्ने सर्वदलीय सहमति भएको छ ।

आइतबार जिल्ला प्रशासन कार्यालय चितवनमा बसेको सर्वदलीय सर्वपक्षीय बैठकले राजनीतिक आधारमा कसैलाई पनि संरक्षण नगर्ने र घटनामा सामेलको पहिचान गरी कारबाही गर्न सहमति जनाएको हो । प्रदेश सांसद कृष्ण खनालकै उपस्थितिमा भएको घटनामा आगोले जलेर ड्यूटीमा खटिएकी महिला प्रहरी कल्पना खड्का घाइते भएकी थिइन् । उनको हाल चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।

बैठकमा प्रजिअ बस्नेतले घटनाले प्रहरीको मनोबल गिर्ने र शान्ति सुरक्षा प्रवाहमा समस्या आउन सक्ने भन्दै सबै सचेत बन्नुपर्ने बताएका थिए । बैठकमा चितवनका प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले सांसदकै उपस्थितिमा जघन्य अपराध भएको भन्दै यस्ता गतिविधि सैह्य नहुने बताए ।
बैठकमा सांसद घनश्याम दाहाल, गीता वाग्ले, भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहाल, नेकपाका नेता तेजेन्द्रबहादुर खड्का, समाजवादी पार्टी, राजपाका प्रतिनिधि, उद्योग वाणिज्य संघका प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो ।

आगजनीको अभियोगमा थप दुई पक्राउ

भरतपुरको गोन्द्राङमा रहेको सडक बोर्डको दस्तुर सङ्कलन केन्द्रमा गत शुक्रबार आगजनी र तोडफोड अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । रत्ननगर नगरपालिका वडा नम्बर ९ का कुलप्रसाद लामिछाने र राप्ती नगरपालिका वडा नम्बर ८ का खिलप्रसाद घिमिरे आइतबार पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक सुशीलसिंह राठौरका अनुसार घटनाका समयमा लिइएको भिडियोका आधारमा लामिछाने र घिमिरेलाई पक्राउ गरिएको हो । भिडियोमा पहिचान खुलेका अन्य आरोपीहरुको खोजी भइरहेको राठौरले बताए । सो घटनामा ३० जना संलग्न भएको देखिएको प्रहरीले जनाएको छ ।

राठौरले ती तस्बीर भिडाएर नाम पहिचान गरी दोषीलाई नियन्त्रणमा लिइने जानकारी दिए । घटना भएकै दिन प्रहरीले सौराहास्थित रेष्टुरेन्ट एण्ड बार एशोशिएसनका अध्यक्ष गोकर्ण गिरीलाई पक्राउ गरेको थियो ।

संकलन केन्द्रमा आगजनी, तोडफोडसँगै रकम लुटिएको भन्दै सडक दस्तुर सङ्कलनको ठेक्का पाएको ब्रिटानिक मौलाकालिका कन्ट्रक्सन प्रालीले गिरीसहित उद्योग वाणिज्य संघ रत्ननगरका अध्यक्ष राजाराम रेग्मी, सरोज तिमिल्सिनालगायत बिरुद्ध प्रहरीमा उजुरी दर्ता गरेको थियो । सो कम्पनीका अध्यक्ष अमृत भट्टचनले आगजनी, लुटपाट र तोडफोडका साथै करीब चार लाख रुपैयाँ समेत लुटिएकाले उजुरी गरेको बताए