एक विद्यार्थी विदेश भ्रमणमा जाने भएपछि त्रिविको परीक्षा सार्न पत्राचार

काठमाडौं / एक विद्यार्थी विदेश जाने भएपछि त्रिभुवन विश्वविद्यालयको परीक्षा तालिका नै सार्ने तयारी भएको छ । नेपाल ल क्याम्पसमा बिएएलएलबी पाँचौँ वर्षमा अध्ययनरत एक विद्यार्थीका लागि परीक्षा सार्न कलेजले विश्वविद्यालयलाई पत्राचार गरेको छ । विद्यार्थी आफैँले खोजेको कार्यक्रमका लागि विदेश जान क्याम्पसले सिफारिसपत्र दिएको थियो । एक परीक्षार्थीसहित अन्य दुई विद्यार्थी अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागी हुने तय भएको छ । उनी स्वदेश फर्किएपछि मात्र परीक्षा गर्ने गरी तालिका मिलाउन खोजिएको छ ।

आगामी २७ जेठमा हुने परीक्षा पछि सार्नका लागि क्याम्पस प्रशासनले नै परीक्षा नियन्त्रण कार्यालय बल्खुलाई पत्राचार गरेको छ । क्याम्पस प्रमुख डा. डिएन पराजुलीले एक विद्यार्थी भए पनि सकेसम्म परीक्षा नछुटोस् भनेर बल्खुलाई पत्राचार गरेको बताए । ‘एकजना विद्यार्थी भए पनि हाम्रै विद्यार्थी हुन्, सकेसम्म परीक्षा मिस नहोस् भनेर पत्र लेखिएको हो, बल्खुले के गर्छ थाहा छैन,’ क्याम्पस प्रमुख पराजुलीले भने ।

अन्य केही विद्यार्थीले भने परीक्षा नसार्न दबाब दिएका छन् । क्याम्पस प्रमुख पराजुलीलाई भेटेर उनीहरूले परीक्षा सार्दा सबै विद्यार्थीको काम र मानसिक रूपमा समेत असर पर्ने बताएका थिए । बिएएलएलबीमा नेपाल ल क्याम्पसमा मात्र एक सय पाँच विद्यार्थी अध्ययनरत छन् । देशभर त्रिविका तीन कलेजमा बिएएलएलबीको कक्षा सञ्चालन भइरहेको छ । नयाँ पत्रिकाबाट ।