अबबाट भरतपुरमा खानेपानी महशुल अनलाइन मार्फत भुक्तानी गर्न सकिने ।

चितवन, २६ बैशाख । भरतपुरमा अबदेखि खानेपानीको महशुल घरमै बसि बसि अनलाइन मार्फत नै भुक्तानी गर्न सकिने भएको छ । चितवनको भरतपुर खानेपानी व्यवस्थापन बोर्डले कागजरहित कार्यालय बनाउने उद्धेश्य तथा स्मार्ट सिटी अनुरुप खानेपानीको बिल भुक्तानी अनलाइन पद्धतिबाट गर्न मिल्ने बनाइएको हो ।
कार्यालयहरु डिजिटल बन्दै गइरहेको अवस्थामा भरतपुर खानेपानी ब्यबस्थापन बोर्डलाई समेत डिजिटल गर्दै आजबाट अनलाइन बिल भुक्तानी सेवा सञ्चालन गरिएको हो । बोर्डका कार्यकारी सदस्य विश्वनाथ ओझाले अनलाइनबाट खानेपानीको बिल भुक्तानी गर्दै सेवाको शुभारम्भ गरेका हुन् । बोर्डका कार्यकारी निर्देशक प्रजापति दाहालका अनुसार भरतपुर खानेपानी व्यवस्थापन बोर्डले ईसेवासँग सहकार्य गरेर ग्राहकले घरबाटै खानेपानीको महसुल भुक्तानी गर्न सक्ने व्यवस्था मिलाएको हो । कार्यकारी दाहालका अनुसार दैनिक दुई करोड पाँच लाख लिटर पानी वितरण गर्दै आएको भरतपुर खानेपानी व्यवस्थापन बोर्डसँग २७ हजार ग्राहक रहेका छन् ।
भरतपुरको वडा नम्बर १ देखि १६ सम्म ३३ वटा डिप बोरिङ मार्फत खानेपानी वितरण गर्दै आएको बोर्डले वडा नम्बर २२ मा सेवा विस्ताको कामलाई तीव्रता दिएको भने अन्य वडामा सेवा विस्तारको तयारी गरेको दाहालले बताए । महानगरपालिकाका ४३ प्रतिशत उपभोक्तालाई शुद्ध खानेपानी उपलब्ध गराएको उल्लेख गर्दै दाहालले वर्षेनि दुई हजार भन्दा बढी नयाँ सदस्य थपिने गरेको बताए । बोर्डले मासिक रुपमा ७५ लाख रुपैयाँसम्म खानेपानीको महसुल संकलन गर्दै आएको छ ।

बोर्डले आठ सय १२ किलोमिटर पाइप लाइन मार्फत उपभोक्ताहरुलाई खानेपानी वितरण गर्दै आएको छ । डिप बोरिङबाट करिब एक सय मिटर गहिराईबाट पानी निकालेर वितरण गरिएको उल्लेख गर्दै दाहालले आफूहरुले वितरण गर्ने पानी गुणस्तरीय भएको दावी गरे । तीन लाख ५० हजार जनसंख्या भएको भरतपुर महानगरपालिकाका एक लाख ४१ हजार जनसंख्यालाई पानी उपलब्ध गराउँदै आएको दाहालले जानकारी दिए ।