सहकारीमा बढदो बिकृती : करोडौं रुपैयाँ लिई सञ्चालक फरार!


बिरगंज, २५ बैशाख । प्राइम बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सञ्चालक बचतकर्ताको करोडौं रुपैयाँ रकम लिई फरार भएका छन् ।
बिरगंजको लिंकरोडस्थित प्राइम बचत तथा ऋण सहकारी सस्ँथाका अध्यक्ष राजेशकुमार पटेल सहकारीका कोषध्यक्ष श्रीमती सहित फरार भएका हुन् ।                             

श्रोतका अनुसार फरार हुनु भन्दा केहिदिन अगाडी पटेलले आफ्नो घर जग्गा सुर्य बचत तथा क्रृण सहकारीमा राखी ५० लाख रुपैया क्रृण लिएका थिए । प्राइम बचत तथा ऋण सहकारीमा जम्मा गरेको आठ करोडभन्दा बढी रुपैयाँ लिएर सञ्चालक फरार भएका हुन् । जिल्ला प्रशासन कार्यालय पर्साले फरार रहेका अध्यक्ष पटेल, कोषाअध्यक्ष पटेलकी श्रीमति र अन्य सञ्चालक समितिका सदस्यकोे खोजी भइरहेको जनाएको छ ।

संस्था सञ्चालक समितिका सबै पदाधिकारी करिब एक महिनादेखि सम्पर्क्िवहीन भएको बुझिएको छ । मोबाइल पनि सबैको ‘स्विच अफ’ छ । फेसबुक एकाउन्ट पनि ‘डिएक्टिभ’ गरेकाले यो घटनालाई सुनियोजित मानिएको छ । संस्थाका अध्यक्ष राजेशकुमार पटेल प्रमुख हर्ताकर्ता रहेको सो सहकारी चैत २० देखि लिंकरोडस्थित प्रधान कार्यालयमा ताल्चा लगाइएको छ । पटेलको ९८२४२६७४०९ नम्बरको मोबाइल स्विच अफ छ ।

सञ्चालक समितिको कोषाध्यक्ष पटेलले आफ्नो श्रीमति रिता पोखरेललाई राखेका थिए । पोखरेल पनि सम्पर्क्िवहीन छिन् । संस्थाका वरिष्ठ उपाध्यक्ष भारती गुरुङ, उपाध्यक्ष रामलक्षन तिवारी, महासचिव रुपेशकुमार गुप्ता, सचिव शिक्षा थापा र सदस्य सुमितकुमार शर्मा पनि फरार रहेको सेवाग्राहीको भनाइ छ । सहकारीमा एक हजार चार सय सदस्य बचतकर्ता रहेका छन् । उनीहरुले बचत गरेको करिब आठ करोड रुपैयाँ सञ्चालक समितिमा रहेका व्यक्तिले लिएर फरार भएका हुन् । बजारमा दैनिक बचत संकलन गर्ने प्रतिनिधिसमेत सम्पर्क्वहीन छन् ।

कार्यालय लामो समय सम्म नखुलेपछि सदस्यहरुले चैत २७ मा जिल्ला प्रशासन कार्यालय पर्सामा उजुरी दिएका थिए । प्रशासनले सञ्चालकहरुको खोजी भइरहेको जनाएको छ । उनीहरुको जग्गा, जमिन र बैंक खाता रोक्का गरिएको पर्साका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकारी दिए । सम्पर्कमा आएका ‘केही सदस्यले भने आफुहरुले पहिले नै राजीनामा गरेको भन्दै उम्किन खोजेको सेवाग्रहीहरुको गुनासो छ । सत्यतथ्य के हो खोजबिन भइरहेको छ,’ उनले भने ।
सञ्चालक समिति अध्यक्ष पटेल रौतहटको बृन्दावन गाउँपालिका, हर्साहाका बासिन्दा हुन् ।

उनकी पत्नी पोखरेल काठमाडौंकी हुन् । श्रीमतीलाई कोषाध्यक्ष बनाएर पटेल करोडौं रुपैयाँ लिई फरार भए पछी अहिले बिरंगज क्षेत्रमा खाईनखाई बचत गर्ने बचतकर्ताहरु पुपुरोमा हात राख्दै बेहाल अवस्थामा रहेको स्थानियले बताए । पटेल वीरगन्ज जेसिसका पूर्वअध्यक्ष पनि हुन् ।