४ वटी श्रीमतीका धनी यातायातका लेखापालको ५ करोड अकुत सम्पत्ति छानबिनमा

अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर

काठमाडौं/ ४ वटी श्रीमतीका धनी यातायात ब्यबस्था कार्यालय कोशीका लेखापलविरुद्व विशेष अदालतलमा मुद्दा दायर गरेको छ । सोमबार अख्तियारले ५ करोडभन्दा बढी अकुत सम्पत्ति कमाएको भन्दै लेखापाल सुरेश अधिकारीविरुद्व मुद्दा दायर गरेको हो ।
एक विज्ञप्ति जारी गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको भन्दै यातायात व्यवस्था कार्यालयका लेखापाल अधिकारीले ५ करोड १० लाख ३३ हजार ६२३ रुपैयाँ बढी अकुत सम्पत्ति कमाएको भन्दै उनी बिरुद्ध विशेष अदालतमा मुद्धा दायर गरेको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

लेखापाल अधिकारीले २०५९ असोज १६ देखि २०६० जेठ २५ गतेसम्म रोल्पाको साविक तेवाङ गाविसको सचिवका रुपमा काम गरे । त्यस्तै २०६० जेठ २६ गतेदेखि २०६५ चैत १९ गतेसम्म नेपाल टेलिकमको सहायकस्तर तह ४ मा कार्यरत थिए ।
टेलिकमपछि अधिकारीले २०६५ चैत ३० मा निजामती सेवाको लेखापाल पदमा नयाँ नियुक्ति भई कोष तथा लेखा नियन्त्रकको कार्यालय भोजपुर हुँदै २०६७ चैत २० गतेदेखि २०७४ वैशाख ६ गतेसम्म यातायात व्यवस्था कार्यालय कोशीमा लेखापालको पदमा कार्यरत रहेका थिए ।

अधिकारीले पदीय मर्यादा विपरीत कार्य गरी गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरेको र अस्वाभाविक उच्च जीवनशैली यापन गरेको भन्दै सोही बेला २०७४ वैशाख ६ गते निलम्बनमा परे ।

उनले जागिर खाएको अवधि २०५९ असोज १६ देखि २०७५ वैशाख मसान्तसम्मको अधिकारीको सम्पत्तिहरुमाथि अख्तियारले अनुसन्धान थालेको थियो । अधिकारीले सो समयमा पाउने तलवभत्ता¸ प्रोत्साहन भत्ता¸ जग्गा विक्री¸ नगद अंश भर्पाइ¸ कर्जालगायतबाट कुल ८८ लाख ३४ हजार ८ सय ८५ रुपैयाँ आम्दानी हुन आउँछ ।

तर उनले जागिर खाएको बीचको समयमा ४ वटी श्रीमती, सासु र मामाको नाममा समेत सम्पत्ति राखेको अख्तियारको अनुसनधानमा खुल्न आएको छ । उनले आफू र श्रीमतीहरु दुर्गा अधिकारी, दिपा श्रेष्ठ ९अधिकारी०¸ सुस्मिता अधिकारी, सोममायाँ श्रेष्ठ, सासू पुष्पकुमारी निरौला र नाता पर्ने मामा बलराम शर्माको नाममा पनि सम्पत्ति राखेका थिए ।

अख्तियार प्रवक्ता कोइरालाका अनुसार अधिकारीको वैध आम्दानी जम्मा ८८ लाख ३४ हजार ८ सय ८५ रुपैयाँ हो । तर, चलअचल सम्पत्तिहरु जग्गा खरिद, घर निर्माण, सवारी साधन खरिद, लगानी तथा खर्च एवं विभिन्न बैंक तथा वित्तीय संस्थाहरुमा मौज्दातलगायत गरी ५ करोड ९८ लाख ६८ हजार ५ सय ८ रुपैयाँ आम्दानी गरेको देखिएको छ । प्रवक्ता कोइरालाले भने, ‘अधिकारीले ५ करोड १० लाख ३३ हजार ६ सय २३ रुपैयाँ अकुत सम्पत्ति कमाएको प्रष्टै देखिन्छ ।

अख्तियारले लेखापाल अधिकारीसहित उनका ४ वटी श्रीमती, सासू निरौला र नाताका मामा शर्मा समेतलाई प्रतिवादी कायम गरी अदालतमा मुद्दा दायर गरेको छ ।