१० जना महिला सहित ४८ जनाद्वारा रक्तदान


चितवन/ चितवन तथा नवलपुरमा रहेका विभिन्न ६ वटा संघसंस्थाले आफ्नो नियमित कार्यक्रम अन्तर्गत मंगलबार खुला रक्तदान कार्यक्रम गरेका छन् । चितवनमा हुने रगतको मागलाई मध्यनजर गर्दै यी एभरेष्ट बचत तथा ऋण सहकारी संस्था लिमिटेड, लायन्स एण्ड लियो क्लब अफ नारायणगढ बालकुमारी, नारायणी मोटर्स (बजाज शोरुम) नारायणगढ, लायन्स क्लब अफ नारायणगढ नारायणी, एबीसी नारायणी मोटर्स गैंडाकोट र रोट्रयाक्ट क्लब अफ भरतपुरले हरेक तीन–तीन महिनामा रक्तदान कार्यक्रमको आयोजना गर्दै आइहरेका छन् । मंगलबार शहीदचोकमा आयोजना गरिएको रक्तदान कार्यक्रममा १० जना महिला सहित ४८ जनाले रक्तदान गरेका एभरेष्ट बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष बालगोपाल चुकेले जानकारी दिए । यी संस्थाहरुले संयुक्त रुपमा सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालयमा स्टेशनरी वितरण, निशुल्क स्वास्थ्य चेकजाँच शिविर, रक्तदान जस्ता कार्यक्रमहरु आयोजना गर्दै आएका छन् । मेडिकल सिटीको रुपमा विकास हुँदै गइरहेको भरतपुरमा दुई वटा मेडिकल कलेज दुई वटा केन्द्रीय स्तरका सरकारी अस्पताल तथा अन्य धेरै अस्पतालहरु रहेकाले रगतको माग अत्यधिक हुने भएकाले नियमित कार्यक्रम अन्तर्गत रक्तदान कार्यक्रम गरिएको कार्यक्रम संयोजक अनुषा चुकेले बताइन् ।