प्रधानमन्त्री ओली प्रति दया लाग्छ : उपसभापति निधी


चितवन, चैत १५/नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधीले प्रधानमन्त्री केपी शर्मा ओलीप्रति दया लागेर आएको बताएका छन् ।
प्रधानमन्त्री ओलीले कांग्रेसका बारेमा गरेको टिप्पणीप्रति कटाक्ष गर्दै उपसभापति निधीले यस्तो बताएका हुन् ।
नेपाल प्रेस युनियन चितवन शाखाले भरतपुर विमानस्थलमा गरेको पत्रकार सम्मेलनमा बोल्दैं उपसभापति निधीले प्रधानमन्त्री जस्तो व्यक्तिबाट यस्तो टिप्पणी आउनु आफूलाई दया लाग्नु बाहेक अरु केही भन्न आवश्यक नरहेको बताए । प्रधानमन्त्री ओलीले कांग्रेसप्रति गरेको टिपप्णी आत्मरतीमा रमाउने र टिप्पणी गर्न लायक नभएको उपसभापति निधीले जिकिर थियो ।
उपसभापति निधी भने–“कम्युनिष्टहरुको जन्मकुण्डली हेर्ने हो भने राजाको नजिक रहेर काम गरेको देखिन्छ, उहाँहरुलाई लोकतन्त्रप्रति निष्ठा भएको कांग्रेसलाई यसो उसो भन्न मिल्दैन ।” २०३७ सालमा भएको जनमत संग्रहमा कम्युनिष्टहरुले निर्दलको पक्षमा मतदान गरेको निधीको आरोप छ ।

यस्तै उपसभापति निधीले आजदेखि सुरु भएको लगानी सम्मेलनलाई सफलताको कामना गर्दै यस सम्मेलनलाई सफल बनाउन सरकारले प्रयाप्त तयारी र गृहकार्य नगरेको टिप्पणी गरे । सम्मेलन नेपाल प्रेस युनियन चितवनका अध्यक्ष अनिल ढकालको अध्यक्षतामा भएको थियो ।