चितवनमा विप्लव समूहको संगठन तितर बितर र छिन्न भिन्न हुँदै

सात पक्राउ , चार जनाद्धारा राजिनामा, बाँकी भागाभाग

सुर्य बराल/ चितवन,चैत १३ /चितवनमा विप्लव समूहको संगठन छिन्न भिन्न भएको छ । सरकारले गत् फागुण २८ गते प्रतिबन्ध लगाउदै बिप्लब समूहका बिरुद्ध ब्यापक मात्रमा प्रहरी परिचालन गरेसँगै चितवनमा प्रतिबन्धित नेकपा बिप्लब समूहको संगठन तितर बितर हुँदै छिन्न भिन्नको अवस्थामा पुगेको हो । बिप्लवका सात जना नेता, कार्यकर्तालाई जिल्ला प्रहरी कार्यालय चितवनले पक्राउ गरेको छ । उनिहरुलाई जिल्लाका विभिन्न क्षेत्रबाट पक्राउ गरिएको हो ।

बिप्लव समूहको गतिविधिमा सरकारले प्रतिबन्ध घोषणा गरेयता उनिहरुलाई पक्राउ गरिएको चितवन प्रहरीले जनाएको छ । पक्राउ परेका मध्ये छ जना बिरुद्ध मुद्धा दर्ता गरेर म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । चार जनालाई एक हप्ता अघि नियन्त्रणमा लिइएको हो भने दुई जनालाई हिजो र एक जनालाई आज नियन्त्रणमा लिइएको हो।

पक्राउ पर्नेहरुमा बिप्लव समूहका जिल्ला नेताहरु राजकुमार तिमिल्सिना, गुणराज श्रेष्ठ, विक्रम न्यौपाने, विरबहादुर तामाङ, जयबहादुर कुंवर र मित्र केसी रहेका छन् । कुंबर र केसीलाई प्रहरीले हिजो पक्राउ गरेको हो ।
तिमिल्सिना जिल्ला सचिवालय सदस्य, न्यौपाने अखिल (क्रान्तिकारी) विरेन्द्र बहुमुखी क्याम्पस इकाई अध्यक्ष, श्रेष्ठ राप्ती नगरपालिका जनसरकार प्रमुख, केसी विप्लव निकट यातायात व्यवसायी संघ चितवन अध्यक्ष र कुंवर चितवन क्षेत्र नम्वर १ इलाका इन्चार्ज हुन् । उनीहरुबिरुद्ध संगठित अपराध, बम बिस्फोट र आगजनी जस्ता गम्भीर प्रकृतिका मुद्धा चलाइएको प्रहरीको दावी छ ।

विप्लव समूहका नेता कार्यकर्ता खोजी गरी पक्राउ गर्न जिल्लाका सबै क्षेत्रमा ब्यापक मात्रमा प्रहरी परिचालन गरिएको चितवन प्रहरी प्रमुख सुसिल सिंह राठोरले बताए।

चार कार्यकर्ताद्धारा राजिनामा

 यसैविच, विप्लव समूहका जिल्ला स्तरका नेता,कार्यकर्ता धमाधम पक्राउ पर्न थालेपछि चितवनमा चार जनाले मंगलबार बिज्ञप्ती जारी गरेर राजीनामा दिएका छन् । भरतपुर महानगरपालिका १० का इन्चार्ज मधु क्षेत्री, नगर सदस्यहरु रामप्यारी श्रेष्ठ, राजकुमार विक र श्रमनाथ पण्डितले अबबाट सो समूहमा नलाग्ने भन्दै राजिनामा दिएका हुन् ।

भागाभागको स्थितीमा बिप्लवका नेता कार्यकर्ता

सरकारले प्रतिबन्ध लगाई जिल्लाका शहरी, गाँउ र पहाडी क्षेत्रमा एकैसाथ अपरेशन चलाएसँगै बिप्लव समूहका अधिकांश कार्यकर्तामा भागाभागको स्थिती उत्पन्न भएको छ । जिल्लामा रहि बिप्लब समूहमा यसअघि काम गर्ने दर्जनौं नेता कार्यकर्ता प्रतिबन्ध लगाएपछी भुमिगत भएका थिए । केही नेता कार्यकर्ता समूहको योजनामै लुक्दै भाग्दै क्रियाशिल रहेपनि अधिकांश कार्यकर्ताहरु पक्रिने डरले जिल्ला छाडेको बुझिन आएको छ । केही कार्यकर्ता राजधानी काठमाण्डौं, पोखरा, बुटवललगाएतका शहरमा आफन्तकोमा शरण लिई बसेको बुझ्नमा आएको छ ।

अन्य केही भने भारतीय शहर दिल्ली, पञ्जाब, कलकत्ता र मुम्बईसम्म पुगेको पाईएको छ । उनीहरुले घरका सदस्य र आफन्तलाई स्थिती साम्य नभएसम्म आफुहरु स्वदेश फर्कन नसक्ने जानकारी गराएको एक कार्यकर्ताका आफन्तले भण्डाफोर अभियानलाई जानकारी गराएका छन् ।
यता दर्जनको सख्यामा रहेका जिल्लास्तरका केही नेता कार्यकर्ता भने पार्टीले माथीबाट योजना पनि नदिएको र आफुले केही गर्दा भोली पार्टीले जिम्मा नलिने डरले गर्दा लुक्दै छिप्दै पार्टीको निर्देशन कुरेर बसेको अवस्था रहेको श्रोतले जनाएको छ । प्रधानमन्त्री ओलीले भने जस्तै चितवन जिल्लामा बिप्लवका अधिकांश नेता कार्यकर्ता चैत्र महिना भित्रै पक्राउ पर्ने अवस्था देखिन्छ ।

यसरी, बिप्लब समूहलाई प्रतिबन्ध लगाई ब्यापक मात्रमा सादा पोशाकका प्रहरीलाई उनीहरुको हुलिया, फेसबुक आईडी, मोबाईल नम्बरहरु लगाएत उनीहरुको सम्भावित मुभमेण्टलाई नियाली रहेको चितवन प्रहरीको सक्रियताले गर्दा चितवनमा विप्लव समूहको कार्यकर्ताहरुको भागाभाग मात्र भएको छैन् पुरै संगठन नै छिन्न भिन्न हुने अवस्था पैदा भएको छ ।