स्वदेश फर्कदै पूर्वप्रधानमन्त्री प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अमेरिकाबाट स्वदेशको लागि फर्कनुभएको छ । पत्नी सीता दाहालको स्वास्थ्यमा केही सुधार आएपछि पूर्वप्रधानमन्त्री प्रचण्ड पत्नी सीता, छोरी गंगा र नर्स अम्बिका पुडासैनीसहित न्यूयोर्कबाट स्वदेश प्रस्थान गर्नुभएको हो ।
नेकपा अध्यक्ष दाहाल यहाँको स्थानीय समयअनुसार मंगलबार राति ११ बजे न्यूयोकस्थित जोन एफ केनेडी अन्तर्राष्ट्रिय बिमानस्थलबाट स्वदेश फर्कनुभएको हो । अध्यक्ष दाहालको बिदाइका लागि राजदुत डाक्टर अर्जुन कार्की, संयुक्त राष्ट्रसंघका लागि स्थायी नियोगका प्रमुख अमृतबहादुर राई, बाणिज्य दूतावास न्यूयोर्कका महाबाणिज्य दूत पुष्पराज भट्टराईलगायत बिमानस्थल पुग्नुभएको थियो ।
सीता दाहालको उपचारमा प्रचण्ड परिवारसहित दश दिन अगाडि अमेरिका पुग्नुभएको थियो । अमेरिकाको विभिन्न अस्पतालमा सीता दाहालको उपचार र चेकजाँच भएको थियो ।
सीता दाहालकी कान्छी छोरी गंगा दाहालले आफ्नी आमाको स्वास्थ्यमा सुधार भएको बताउनुभयो ।
पत्नी सीता दाहालको उपचारका लागि प्रचण्डले कान्छी छोरी गंगा दाहाल र ज्वाइँ जीवन आचार्यलाई समेत अमेरिका लगेर गएका थिए । अमेरिकामा रहँदा नेपाली समुदाय र अमेरिकन केही उच्च व्यक्तिहरूसँग प्रचण्डले भेट गर्नुभएको थियो । उहाँले नेपालका लागि पूर्वअमेरिकी राजदुत स्कट डेलेसी, अमेरिकी विदेश मन्त्रालयकी दक्षिण तथा मध्य एसिया मामला हेर्ने कार्यबाहक सचिव एलिस वेल्चलगायतसँग भेटवार्ता गर्नुभएको थियो ।