नेकपाका स्थायी समिति सदस्य सुदर्शनलाई प्रहरीले अदालतमा उपस्थित गरायो

सुदर्शनसहित ९ जनाबिरुद्ध हातहतियार खरखजाना र संगठित अपराधको मुद्दा

काठमाडौं । काभ्रेको एक गाउँबाट गिरफ्तार परेका नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य तथा मध्य केन्द्रीय कमाण्ड इन्चार्ज हेमन्तप्रकाश ओली सुदर्शनलाई प्रहरीले अदालतमा उपस्थित गराएको छ । आइतबार सुदर्शनसहित ९ जनालाई जिल्ला अदालत ललितपुरमा उपस्थित गराइएको हो ।
ललितपुर जिल्ला अदालतका न्यायाधीश चुणामणी खड्काको ४ नम्बर इजलासले सुदर्शनसहित ९ जनालाइ नै ८ दिनको म्याद थप गरेको छ । सुदर्शनका तर्फबाट ६ जना अधिवक्ताले थुनछेक बहस गरेका छन् । कानुन व्यावसायीहरुले राजनीतिक दलालाइ ‘अपराधिक समूह’ भन्दै संगठित अपराधजस्तो अन्तर्राष्ट्रिय अपराधिक गिरोहलाइ लगाउने कानुन सुदर्शनसहितका नेता कार्यकर्तालाई लगाउन नमिल्ने भन्दै बहस गरेका थिए ।

प्रहरीले सुदर्शनसहित ९ जनाबिरुद्ध हातहतियार खरखजाना र संगठित अपराधको मुद्दा लगाइएर अनुसन्धान गरिरहेको जनाएको छ । प्रहरीले नेता सुदर्शनलाइ अहिलेसम्म कसैलाई पनि भेट्न दिएको छैन ।

शुक्रबार गिरफ्तार गरेका सबैलाई प्रहरीले ललितपुरको जंगलमा एकरात बेपत्ता पारेरको परिवारको आरोप छ । सुदर्शनको टोलीलाई ललितपुरको ठेचो पुर्याएर प्रहरीले हतियार भिराएको परिवारको आरोप छ । प्रहरीले अदातमा पेस गरेको फाइलमा ५ थान हतियार बरामद गरिएको उल्लेख छ । यसअघि भने प्रहरीले उनीहरुको साथाबाट हतियार बरामद भएको विषयमा केहि जानकारी दिएको थिएन ।

सुदर्शनसहित गिरफ्तार परेका धर्मराज राजबाहक, रामकृष्ण खतिवडा, शंकर अधिकारी र विजय श्रेष्ठ छन् । त्यस्तै, ललित तामाङ, सञ्जीव कार्की, देव घिमिरे र लोकेन्द्र खड्कालाई पनि रहेका छन् । उनीहरु सबैलाई एउटै मुद्दा लगाएको छ ।
सरकारले नेकपामाथि प्रतिबन्ध लगाएपछि गिरफ्तार हुने मध्ये सुदर्शन सबैभन्दा माथिल्लो तहका नेता हुन् । उनीभन्दा अगाडि पोलिटब्यूरो सदस्य मोहन कार्की जिवन्त ललितपुरस्थित आफ्नै कोठाबाट पक्राउ परेका थिए ।