निर्मला हत्याप्रकरणमा अन्ततः एसपी विष्ट र डिएसपी जीसीविरुद्ध पक्राउ पुर्जी जारी

 


कञ्चनपुर, १ चैत्र । कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा अन्ततः नेपाल प्रहरीका तत्कालीन कञ्चनपुर प्रमुख एसपी डिल्लीराज विष्टकै विरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ । एसपी बिष्टका साथमा प्रहरीका डीएसपी अंगुर जीसीका विरुद्ध पनि पक्राउ पुर्जी जारी गरिएको छ ।
एसपी बिष्ट र डीएसपी जीसीलाई पक्राउ गर्न कञ्चनपुर जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको हो । जिल्ला अदालतले उनीहरुले घटनामा सम्लग्न रहेको आशंकामा केही व्यक्तिहरुलाई चरम यातना दिएको र खास प्रमाणहरु नष्ट गरेको भन्दै सोही कसुरमा पक्राउ गरी अनुसन्धान गर्न पक्राउ आदेश दिएको हो । जिल्ला अदालतले सोही कसुरमा मुद्दा लागेका अन्य ६ जनालाई भने धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

कञ्चनपुर जिल्ला अदालतका न्यायाधीश राजेन्द्रकुमार आचार्यको इजलासले यातना र प्रमाण नष्ट गरेको ९सार्वजनिक न्यायविरुद्धको कसुर० आरोप लागेका तत्कालीन डीएसपी ज्ञानबहादुर सेठी र इन्स्पेक्टर एकीन्द्र खड्कालाई यातना कसुरमा ५ लाख र सार्वजनिक न्यायविरुद्धको कसुरमा ४ लाख गरी ९र९ लाख धरौटी लिएको छ ।

सार्वजनिक न्यायविरुद्धको कसुर लागेका तत्कालीन इन्स्पेक्टर जगदीश भट्टलाई ४ लाख धरौटीमा छाड्न आदेश दिएको जिल्ला अदालत कञ्चनपुरका स्रेस्तेदार हरिकृष्ण अवस्थीले बताए ।

सार्वजनिक न्यायविरुद्धको कसुरमा तत्कालीन सईहरू हरिसिंह धामीलाई साढे ३ लाख, रामसिंह धामीलाई ३ लाख र प्रहरी हवल्दार चाँदनी साउदलाई २ लाख ५० हजार धरौटी तोकिएको थियो । तीन दिनसम्म चलेको थुनछेक बहसपछि अदालतको उक्त आदेश आएको हो ।

अघिल्लो बुधबार जिल्ला सरकारी वकिलको कार्यालयले निर्मला घटनासम्बद्ध यातना र सार्वजनिक न्यायविरुद्धको मुद्दा जिल्ला अदालतमा दायर गरेको थियो । मुद्दा दायर भएसँगै तत्कालीन एसपी दिल्लीराज विष्ट र डीएसपी अंगुर जीसीबाहेक ६ जना अदालतमा उपस्थित भएका थिए । उपस्थित नभएका हकमा ७ दिने पक्राउ पुर्जी र ३५ दिने सूचना जारी भइसकेको अदालतले जनाएको छ ।