भनसुन, दलाल मार्फत प्रहरीमा भर्ना हुने दिन गयो:आईजीपी खनाल

चितवन – प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले भनसुन गरेर साथै दलाल मार्फत कोहीपनि प्रहरीमा भर्ना हुन नसक्ने बताएका छन ।
जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुरको नवनिर्मित प्रहरी व्यारेक भवनहरुको गत् सोमबार समुद्घाटन गर्दै महानिरीक्षक खनालले यस्तो बताएका हुन् । यस्तै महानिरीक्षक खनालले घुस दिने र लिने दुवै अपराधि रहेको भन्दै त्यस्तालाई छाड्न नहुने बताए । उनले प्रहरीलाई घुस जस्तो अपराधिक कार्यमा प्रेरिरत गर्नेलाई पनि कारवाहीको भागिदार बनाईने बताए । उनले नेपाल प्रहरी भित्र बसेर लाभान्भित हुनेहरुलाई एक एक गरी कारवाही गरि सकेकोले प्रहरी संगठन सफा भईसकेको दावी गरे ।
उनले प्रहरी कर्मचारीहरु असल, व्यवसायिक, निडर, निष्ठावान, इमानदार तथा निर्भिक हुनुपर्ने उल्लेख गर्दै यसले सबै समस्या समाधान गर्दै लैजाने बताए । उनले प्रहरीको बर्दी लगाई सकेपछि अपराध र अपराधीको दुनियामा भिडन सक्ने हुनुपर्ने बताए ।
प्रहरीले इमानदारीतापूर्वक कार्य सम्पदान गरे मात्र प्रहरी संगठनको श्रीवृद्धि हुने उनको भनाई थियो । उनले प्रहरी संगठनको कार्य सम्पादनलाई थप प्रभावकारी बनाउन प्रविधियुक्त संरचना निर्माण गर्ने काम अघि बढीरहेको जानकारी दिए ।
शिक्षालयले २०७२ फागुनमा सम्झौता गरेर सात करोड ७३ लाख ९७ हजार रुपैयाँको लागतमा दुई वटा पक्की भवन निर्माण सम्पन्न गरेको प्रहरी नायब उपरीक्षक इन्जिनीयर अनिल रानाले जानकारी दिए । नेपाल प्रहरीले भौतिक निर्माण गर्दै व्यवसायिक प्रहरी उत्पादनमा जोड दिएको प्रहरी अतिरिक्त महानिरीक्षक धिरु बस्न्यातले बताए । कार्यक्रममा चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत, जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुरका निर्देशक प्रहरी नायब महानिरीक्षक महेन्द्रकुमार पोखरेललगायतले मन्तव्य राखेका थिए । आजको भण्डाफोर अभियानबाट