घुस लिएर विद्यार्थी पास गराउने शिक्षक अख्तियारको फन्दामा


काठमाडौं – विद्यार्थीसँग घुस लिने भ्याली कलेज अफ टेक्निकल साइन्सका शिक्षक खेमराज शाही अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दामा परेका छन् । उनले पास गराइदिने प्रलोभनमा प्रतिविद्यार्थी २५ हजार घुस लिने गरेको रहस्य खुलेपछि अख्तियारले उनलाई नियन्त्रणमा लिई विशेष अदालत काठमाडौंमा आरोप–पत्र दायर गरेको खबर सार्वजनिक भएको हो ।

शाहीले पूर्वाञ्चल विश्वविद्यालयअन्तर्गत पब्लिक हेल्थ संकायको चौथो सेमेस्टरको परीक्षामा सामेल बायोस्टाटिस्टिक्स विषयका परीक्षार्थीलाई उर्तिण गराइदिने भनेर त्यसरी घुस खाने गरेको पाइएको हो ।

महानगरीय प्रहरी परिसर टेकुबाट पाएको सूचनाको आधारमा अख्तियारले छानवीन गर्दा शाहिले साथी अर्जुन भाट र होप इन्टरनेशनल कलेजमा अध्ययनरत प्रवेग कोरासँगको मिलोमतोमा यस्तो कार्य गर्ने गरेको खुलेको हो ।

शाहीले फेल भएका परीक्षार्थीसँग समेत रकम उठाउने गरेको पाइएको छ ।

उनले आफैँले उत्तरपुस्तिका जाँच्दा फेल भएका विद्यार्थीसँग समेत रकम उठाई उत्तरपुस्तिकामा आफैँले लेख्न नतिजा नै फेरबदल गर्ने गर्दै आइरहेका थिए ।
समाचार स्रोतका अनुसार शाहीले यसका लागि परीक्षार्थीहरूसँग सम्पर्क गर्न साथी अर्जुन भाटलाई लगाएका थिए । केही परीक्षार्थीसँग तत्काल र केहीसँग पछि पैसा लिने शर्तमा ६ जना अनुर्तीणको उत्तरपुस्तिकामा अर्जुन भाट र प्रवेगलाई लेख्न लगाएका थिए । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।