भरतपुर महानगर र इच्छाकामना गाउँपालिकाबीच सीमा विवादको विषय टुंगो लगाइने ।

चितवन , २६ फागुन । चितवनको भरतपुर महानगर र इच्छाकामना गाउँपालिकाबीच सीमा विवादको विषय टुंगो लगाइने भएको छ । सीमा विवादका लागि ०२६ सालदेखिको अभिलेख हेरी टुंगो लगाइने भएको हो ।जिल्लाका विभिन्न कार्यालयहरुमा रहेका अभिलेखका आधारमा सीमा विवाद टुंगो लगाइने र अभिलेखसँगै अन्य प्राविधिक पक्षको पनि ख्याल गरिने भएको छ । समितिका संयोजक रहेका जिसस प्रमुख कृष्णकुमार डल्लाकोटीले भने, ‘संघीय मामिला मन्त्रालयबाट नक्सा फाँटका प्राविधिक बोलाई राजनीतिक हिसाबले नै विवाद समाधान गर्ने योजना छ ।’

गत, फागुन १४ गते जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीको अध्यक्षतामा बसेको बैठकले सीमा विवाद समाधान गर्ने निर्णय गरेको थियो । बैठकले भरतपुर र इच्छाकामनाको विवाद रहेको नदीजन्य पदार्थ उत्खनन क्षेत्र खगेरी खोला क्षेत्रमा जिल्ला अनुगमन तथा समन्वय समितिबाट अनुगमन गरी प्रतिवेदन बनाई त्यसैको आधारमा काम गर्ने÷गराउने निर्णय भएको छ ।

भरतपुर महानगर र इच्छाकामना गाउँपालिकाबीच भएको सिमाना विवादको विषयमा दुवै स्थानीय तहका प्रमुख, जनप्रतिनिधिहरु, जिल्लाका राजनीतिक दल, प्रजिअबीच छलफल भएको थियो । जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीको संयोजकत्वमा बनेको ११ सदस्यीय कार्यदलले एक महिनाभित्र अर्थात् चैत दोस्रो हप्ताभित्र आवश्यक निर्णय गर्ने उल्लेख छ । कार्यदलको परामर्श र सल्लाहअनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई विवाद निरुपणका लागि जिल्ला समन्वय समिति चितवन मार्फत अनुरोध गर्ने निर्णयसमेत भएको छ ।

कार्यदल गठन ।
सीमा विवाद समाधानका लागि जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीको संयोजकत्वमा ११ सदस्यीय कार्यदल गठन गरिएको छ । कार्यदलका सदस्यहरुमा भरतपुर महानगरप्रमुख, कालिका नगरपालिका प्रमुख, इच्छाकामना गाउँपालिका प्रमुख, नेकपा प्रमुख, नेपाली कांग्रेस प्रमुख, प्रमुख जिल्ला अधिकारी, प्रमुख नापी अधिकृत , वन कार्यालय प्रमुख, पूर्वाधार विकास कार्यालय प्रमुख तथा जिल्ला समन्वय अधिकारी सदस्यसचिव रहेका छन् । कार्यदलमा सम्बन्धित निर्वाचन क्षेत्रका संघीय संसद् र प्रदेश संसद्लाई विशिष्ट आमन्त्रित सदस्यका रुपमा राखिएको छ ।

विवाद खोलामा ।
भरतपुर महानगरपालिकाको वडा नं ११ को सीमा र इच्छाकामना गाउँपालिका वडा नं ७ को खगेरी खोला सिमानाका विषयमा विवाद उत्पन्न भएको हो । सीमा विवाद उत्पन्न भएपछि दुई स्थानीय तहका प्रतिनिधि लाई राखेर समन्वय गरेर टुंग्याउने प्रयास गत मंसिरमा नै भए पनि सहमति हुन सकेको छैन । खगेरी खोला बाट ढुंगा, गिटी, बालुवा उत्खनन गर्ने गरी गाउँपालिका ले टेन्डर गरेपछि महानगर र गाउँपालिकाका बीचमा सीमा विवाद चुलिएको हो । महानगरले पनि यही खोलाबाट ढुंगा, गिटी, बालुवा निकाल्ने योजना बनाएको थियो ।

खगेरी खोलामा सीमा भएको हुँदा त्यसमा पनि महानगरको दाबी छ । यस्तै, इच्छाकामना गाउँपालिका वडा नं ७ को वडा कार्यालय, विद्यालय भवन, सामुदायिक भवन, चर्च, बर्थिङ सेन्टरसहित करिब १५० घरधुरी भरतपुर महानगरपालिकामा पर्ने देखिन्छ । हाल इच्छाकामनामा पर्ने सामुदायिक वनहरु सोमरी, पीपलटार, रानीखोला पनि भरतपुर महानगरमा नै पर्ने देखिन्छ । भरतपुर महानगरका प्रमुख प्रशासकीय अधिकृत नेत्र सुवेदीले महानगरको सीमा खगेरी खोला र त्यसभन्दा पनि अझै उता हुने बताए ।

गाउँपालिकाले धमिले खोलामा राखेको पोस्ट हटाउनुपर्ने दाबी उनको छ । जीपीएस लगायत अन्य ऐतिहासिक तथ्यहरुलाई हेर्दा भरतपुर महानगरको सीमा अहिले गाउँपालिकाले भनेको स्थानबाट ७ किलोमिटर भित्र पर्ने उनको भनाइ छ ।