शिवको महिमा र दशनामीहरुको उत्पत्ती, संस्कार र संस्कृतिका विषयमा अन्तरक्रिया सम्पन्न 


शंकर निर्देश / फाल्गुन १९/ भरतपुर /महाशिवरात्रीको पूर्व सन्ध्यामा भगवान् शिवको महिमा तथा दशनामीहरुको उत्पत्ती, संस्कार र संस्कृतिका विषयमा शनिबार भरतपुरमा अन्तरक्रिया गरिएको छ । नेपाल दशनामी समाज जिल्ला कार्य समिति चितवनले आयोजना गरेको सो अन्तरक्रिया कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले शिवको महिमा र दशनामीहरुको उत्पत्ती, संस्कार र संस्कृतिका विषयमा चर्चा गरेका थिए ।
कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि १००८ स्वामी जगन्नाथ आचार्यले दशनामी समाजका दश थरहरु शास्त्र अनुसार पवित्र रहेको र अपभ्रंश पनि नभएको स्पष्ट पार्नुभयो । ८४ प्रतिशत ओमकार परिवार रहेको नेपालमा धर्म निरपेक्षता हटाई हिन्दु राष्ट्रका रुपमा कायम गर्नका लागी सम्पूर्ण नागरिक एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।
महेश संस्कृत गुरुकुलम विद्याश्रम देवघाटका सह प्राध्यापक प्राचार्य डा. गुरु प्रसाद सुवेदी विशिष्ठ अतिथि रहनुभएको सो कार्यक्रममा कृषि तथा वन विज्ञान अध्ययन संस्थान रामपुर क्याम्पसका प्राध्यापक एवम् कृषि विज्ञ होमनाथ गिरि, सनातन हिन्दु बौद्ध धर्मका अभियन्ता मोहन लामा रुम्बा, दशनामी समाजका केन्द्रिय सदस्य ईश्वर गिरी, व्राम्ह्ण समाजका चितवनका पूर्व अध्यक्ष काशीराम पौडेल, कुमाल समाज चितवनका उपाध्यक्ष सोम बहादुर कुमाल, दशनामी समाज नवलपुरका जिल्ला अध्यक्ष तुलसी गिरि, दशनामी समाज प्रदेश नं. ३ का उपाध्यक्ष रमेश पुरी लगायतको समेत सहभागीता रहेको थियो ।
दशनामी समाज चितवनका उपाध्यक्ष शिवराज गिरीले स्वागत मन्तव्य राख्नुभएको सो कार्यक्रम दशनामी समाज चितवनका जिल्ला अध्यक्ष जीवलाल पुरीको अध्यक्षतामा सम्पन्न भएको थियो ।