मन्त्री अधिकारीको अन्त्येष्टि राजकीय सम्मानका साथ

पोखरा । ताप्लेजुङमा बुधबार हेलिकप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीको आज शुक्रबार अन्त्येष्टि गरिएको छ । मन्त्री अधिकारीको दाहसंस्कार पोखराको रामघाटमा राजकीय सम्मानका साथ गरिएको हो ।
उनलाई जेठा छोरा विराजले दागबत्ति दिएका थिए । नेपाली सेनाको एक टुकडीले सलामी दिएको थियो । अधिकारीको शव आजै काठमाडौंबाट पोखरा लगिएको थियो ।
पोखरा प्रदर्शनीस्थलमा श्रद्धाञ्जली सभापछि रामघाटसम्म शवयात्रा गरिएको थियो । नयाँबजार, महेन्द्रपुल रानीपौवा, हस्पिटल चोक हुँदै रामघाटसम्मको शवयात्रामा सयौं सर्वसाधारण सहभागी भएका थिए ।
मन्त्री रवीन्द्र अधिकारीको मृत्यु संस्कार भने अब चार दिनमै सकिने भएको छ । मन्त्री अधिकारी मृत्यु संस्कार १३ दिनबाट घटाएर सात दिनमा झार्नुपर्छ भन्ने अभियान्ता भएका कारण सात दिनमै मृत्युको संस्कार सकिने पारिवारिक स्रोतले जनाएको छ । मृत्यु संस्कार घटाउने अभियान चलाउन उनले संस्कृति मन्त्रालयमार्फत समिति नै गठन गरेका थिए । आज तेस्रो दिन भएकाले उनको मृत्यु संस्कार अब चार दिनमा अर्थात २१ गते मंगलबार सकिनेछ ।