कागज आयतमा भन्सार छुटको माग


भरतपुर । कपी उद्योगीहरुको सस्था नेपाल मसलन्द तथा शैक्षिक सामाग्री उद्योग संघको शनिवार गैडाकोटमा सम्पन्न केन्द्रिय वैठकले कपीको कच्चा पदार्थ कागज आयतमा भन्सार छुटको माग गरेको छ । दुई दिन सम्म चलेको वैठकले कागज आयतमा लगाइदै आएको भन्सार वढी भएको निश्कर्ष निकाल्दै भन्सार दर घटाउन माग गरेको हो ।
सरकारले कागज आयतमा अहिले १५ प्रतिशत भन्सार दर तोकेको छ । तर यो दर घटाएर ५ प्रतिशतमा झार्नुपर्ने माग संघको रहेको छ । अहिले कागजको भन्सार मूल्याङ्कन प्रति केजी ४० भारु अर्थात नेपाली ६४ रुपियाँ रहेको छ ।
छिमेकी देश भारतवाट आयात हुने तयारी कपीसग प्रतिस्पर्धा गर्न नेपालमा आयत हुने कागजको भन्सार दर घटाउनुपर्ने बैठकको निर्णय रहेको संघका अध्यक्ष रामेश्वर पराजुलीले जानकारी दिनुभयो ।
“कपीको लागतका हिसावले नेपाली भन्दा भारतिय कपीमा लागत कम हुने र त्यै आधारमा सस्तो दिदा नेपाली कपीलाइ वजार लैजान समस्या पर्दा भन्सार दर घटाएर पनि प्रतिस्पर्धा गर्नुपर्ने आवश्यकता छ” संघका अध्यक्ष पराजुलीले भन्नुभयो ।

नेपालमा अहिले झण्डै पाँच सय साना ठूला कपी उद्योग छन् । उनिहरुले वार्षिक ७० हजार मे.ट. कागज र ३० हजार मे.ट. कापीको कभर आयत गर्ने गर्दछन् । यसरी आयत हुने कागजको सरकारले १५ प्रतिशत भन्सार र १३ प्रतिशत भ्याट तिर्नुपर्ने नेपाली उद्योगका लागि वाध्यता भएको उद्योगीहरु वताउछन् ।