उपचारमा लापरबाही गर्ने बालरोग विशेषज्ञ डा. श्रेष्ठले राजीनामा दिए ।

चितवन । सर्पदंशको उपचारमा आवश्यक सावधानी नपुर्‍याएको भनी चर्को आलोचना खेप्नुपरेका भरतपुर अस्पतालका बालरोग विशेषज्ञ डा। उन्नत श्रेष्ठले राजीनामा दिएका छन् । डा. श्रेष्ठले केही समयअघि राजीनामा दिएको अस्पताल प्रशासनले जनाएको छ । श्रेष्ठले राजीनामा दिए पनि उनलाई कारबाही हुने / नहुने विषयमा अझै मन्त्रालय बाट कुनै निर्णय नआएको अस्पताल प्रशासनले जनाएको छ । डा. श्रेष्ठसँगै सावधानी नअपनाएका दुई प्राविधिकलाई भने केही भएको छैन । उनीहरु अस्पतालमै कार्यरत रहेका छन् । स्टाफ नर्स प्रमिला कार्की र अहेव आनन्द चौधरीले पहिलोपटक बिरामीलाई रिसिभ गरेका थिए । जिल्ला प्रशासन कार्यालय चितवनको अध्ययन प्रतिवेदनले उपचारमा संलग्न सबैको उत्तिकै दोष रहेको प्रतिवेदन सार्वजनिक गरेको थियो । भरतपुर १५ मंगलपुरका ४ वर्षीय बालक सलिन विकको सर्पको टोकाइबाट समयमै उचित उपचार नपाउँदा भदौ २१ गते निधन भएको थियो । बालकको मृत्युपछि वरिष्ठ जनस्वास्थ्य प्रशासक विजयकुमार झाको नेतृत्वमा गठित छानबिन एवं सुझाव समितिले दोषी किटान गर्नुका साथै पीडित परिवारलाई राहतको व्यवस्था गर्न सुझाव दिएको थियो । भरतपुर अस्पतालले घटनाबारे मन्त्रालयमा जानकारी गराए पनि कोही कसैलाई कारबाही गर्नु भनी आदेश नभएको मेसु डा. कृष्णप्रसाद पौडेलले बताए । ‘डा. श्रेष्ठ आफैँले राजीनामा दिएर गएका हुन्, हामीले कारबाही गरी हटाएको होइन’, उनले भने । सर्पदंशको कारण बालकको मृत्यु हुनुमा भरतपुर अस्पतालका स्वास्थ्यकर्मीहरु नै दोषी देखिएपछि भदौ २३ गते तत्कालीन अस्पताल प्रशासनले उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई लिखित स्पष्टीकरण सोधेको थियो । सर्पले डसेर घाइते बालक सलिन विकलाई भरतपुर अस्पतालको आकस्मिक कक्षमा भदौ २१ गते बिहान ३ः३९ बजे उपचारका लागि ल्याइएको थियो । बालक विकको चितवनका दुई मेडिकल कलेज, नारायणी सामुदायिक हस्पिटल र निको चिल्ड्रेन हस्पिटलमा उपचार हुन नसकी पुनः भरतपुर अस्पतालमा उपचारका लागि लैजाँदा मृत्यु भएको थियो ।

पीडितलाई दोहोरो राहत ।
उता, मृतक बालकको आमालाई भरतपुर अस्पतालमा जागिरमा लगाइएको छ । परिवारसँग भएको सहमति अनुसार आमालाई जागिर दिइएको र परिवारलाई राहतबापत ५ लाख रूपैयाँ पनि दिइएको मेसु कृष्ण पौडेलले जानकारी दिए । बालकको परिवारको आर्थिक अवस्था अति दयनीय रहेकोले मृतकका परिवारलाई राहतस्वरुप विभिन्न स्रोतबाट रकम संकलन गरी उपलब्ध गराइएको हो ।

नर्स कुटेको आरोपमा डाक्टर निलम्बित ।
यता, भरतपुर अस्पतालका सर्जन डा. सन्तोष यादव लाई अस्पताल प्रशासनले १ महिनाका लागि निलम्बन गरेको छ । गत, पौष अन्तिम साता अस्पतालमा बिरामीको उपचारकै क्रममा नर्सबाट गल्ती भएको भन्दै डा. यादवले गालामा थप्पड हानेका थिए । डा. यादवले तत्कालै माफी मागे पनि नर्सहरुले प्रशासनमा उनको बर्खास्ती माग गर्दै न्यायका लागि आग्रह गरेका थिए । अस्पतालले डा. यादवसँग स्पष्टीकरण लिएको र हाल एक महिनाका लागि निलम्बन गरिएको अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले जानकारी दिए । यादव अस्पताल विकास समितिबाट नियुक्त भएका व्यक्ति हुन् ।