सन् २०१८ मा नेपाल भित्रिएका पर्यटकमध्ये २२ प्रतिशतमात्र चितवन आए ।


चितवन , २० माघ । सन् २०१८ मा नेपाल भित्रिएका पर्यटकमध्ये २२ प्रतिशतमात्र चितवन आएका छन् । यसलाई व्यवसायीहरुले न्यून भन्दै पर्यटकको संख्या बढाउन पर्यटकीय नगरी सौराहाको प्रवद्र्धनको आवश्यकता महसुस गर्न थालेका छन् । गत वर्ष नेपालमा ११ लाख ७३ हजार पर्यटकले नेपाल भ्रमण गरेका थिए । नेपाल भित्रिएका ११ लाख पर्यटकमध्ये २२ प्रतिशत अर्थात् दुई लाख पर्यटकमात्र चितवन आएको क्षेत्रीय होटल संघ चितवनका अध्यक्ष सुमन घिमिरेले बताए । चितवन आएका कुल पर्यटकमध्ये ६० प्रतिशत विदेशी र ४० प्रतिशत आन्तरिक रहेको उनले जानकारी दिए । चितवन आउने पर्यटकमध्ये ८० प्रतिशत पर्यटक सौराहा आउने गरेका छन् । सौराहा पर्यटकको रोजाइमा रहेकाले यसको प्रवद्र्धनको लागि स्थानीय सरकारले ध्यान दिन जरुरी रहेको संघका अध्यक्ष घिमिरेले बताए । सौराहा मुलुकको तेस्रो पर्यटकीय गन्तव्य मानिन्छ । तर, सौराहाको प्रवद्र्धन हुन नसकेको भन्दै व्यवसायीहरुले चिन्ता व्यक्त गर्न थालेका छन् । चितवनको पर्यटनले सार्थक प्रयास गर्न सक्ने सक्षम नेतृत्व पाउन सकेको छैन । पर्यटक आइदिएका कारण यहाँको पर्यटन अगाडि बढेको छ । चितवनमा पर्यटक भित्र्याउन व्यवसायी र सरकारीस्तर बाट खासै पहल हुन सकेको छैन । खासमा सौराहाको प्रवद्र्धन हुन सकेको छैन’, उनले भने, ‘पर्यटकीय क्षेत्र आर्कषक हुँदाहुँदै पनि हामीले यहाँको विशेषता र मह¤वको विषयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसार गर्न सकेनौँ ।’ सन् २०१८ मा ११ लाख पर्यटकले नेपाल भ्रमण गर्दा चितवनमा करिब चार लाख पर्यटक आउनुपर्ने हो । सार्थक प्रयास हुन नसकेका कारण सन् २०१८ मा करिब ५० प्रतिशत अर्थात् दुई लाख पर्यटक चितवन ल्याउन सकिएन ।
लामो समयसम्मको मुग्लिन नारायणगढ सडकको दूरावस्थाले पनि चितवनमा पर्यटक आगमन हुन नसकेको रेवान सौराहाका अध्यक्ष गोकर्ण गिरीले बताए । ‘यो वर्ष सौराहालाई सडकले पनि साथ दिएन’, उनले भने, ‘हामी पर्यटकको पर्खाइमा बस्यौँ तर, नेपाल आएका पर्यटक अन्यत्र मोडिए ।’
चितवनको पर्यटन फराकिलो बन्दै गएको छ । लामो समयदेखि सौराहामा केन्द्रित चितवनको पर्यटन अहिले पश्चिम चितवनको पटिहानीमा समेत विस्तार भएको छ । क्षेत्रीय होटल संघले करिब तीन महिनाअघि जिल्लाका सात स्थानलाई पर्यटकीय गन्तव्यको घोषणा गरी पर्यटक लैजान घोषणा गरेका थिए । तर, यति लामो समय बितिसक्दा पनि यहाँका व्यवसायीले ती पर्यटकीय गन्तव्यहरुमा पर्यटक लैजान सकेका छैनन् । व्यवसायीले पर्यटकलाई प्रदान गर्ने प्याकेज कार्यक्रममा राख्नुपर्नेमा यसो हुन नसकेको व्यवसायीहरुले स्वीकारेका छन् । सौराहामा चालु आर्थिक वर्षको छ महिनामा गत वर्षको सोही अवधिमा भन्दा २१ हजार २८ पर्यटक बढेका छन् ।
चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा ८८ हजार १५१ पर्यटकले निकुञ्ज घुमेका छन् । जसमध्ये १८ हजार ७३४ नेपाली, १० हजार ३३८ सार्क मुलुकका र ५९ हजार ७९ सार्कबाहेकको देशका रहेका छन् । गत वर्षको पुस मसान्तसम्ममा ६७ हजार १२३ पर्यटकले निकुञ्ज घुमेका थिए । गत वर्ष एक लाख ५२ हजार ६७१ पर्यटकले निकुञ्ज घुमेका थिए । सौराहामा ७५ वटा रेष्टुरेष्ट तथा ११० वटा र समग्र चितवनमा एक सय ५० वटा पर्यटकस्तरीय होटल रहेका छन् । चितवनको सौराहामा आएका स्वदेशी तथा विदेशी पर्यटकहरु जंगल सफारी, हात्ती सफारी, सूर्यास्तको रमणीय दृश्य, हात्ती प्रजनन केन्द्र, बीसहजारी तालसहित थारु संस्कृतिको अवलोकन गरेर रमाउने गरेका छन् ।
नेपालमा सन् २०१७ मा भन्दा २०१८ मा २५ प्रतिशतले वृद्धि भई ११ लाख ७३ हजार ७२ पर्यटकले ७२ पर्यटकले नेपाल भ्रमण गरेको अध्यागमन विभागको तथ्यांकमा उल्लेख छ ।