सुमार्गीको रकम जसरी भए पनिु फिर्ता गराउन अर्को निर्देशन

 ‘सुमार्गीलाई नै सघाउ पुग्ने गरी काम गर्दै आएको राष्ट्र बैंकको यो निर्देशन देखावटी’


माघ १६, काठमाडौँ — व्यापारी अजेयराज सुमार्गीको पैसा जसरी भए पनि फिर्ता गराउन तीन वटा वाणिज्य बैंकहरूलाई राष्ट्र बैंकले निर्देशन दिएको छ । महालक्ष्मी विकास बैंक, नेपाल बंगलादेश बैंक र प्राइम बैंकलाई मंगलबार केन्द्रीय कार्यालय बालुवाटारमा बोलाएर राष्ट्र बैंकले उक्त निर्देशन दिएको हो । ‘उचित विकल्प खोजेर पैसा फिर्ता गर्न मौखिक निर्देशन दिएका छौं,’ स्रोतले भन्यो, ‘बैंकहरूले पैसा फिर्ता गर्न व्यावहारिक कठिनाइ रहेको बताएका थिए ।’

सुमार्गीलाई नै सघाउ पुग्ने गरी काम गर्दै आएको राष्ट्र बैंकको यो निर्देशनलाई पनि देखावटी मात्रै रहेको यो मुद्दालाई नजिकबाट नियालिरहेका सरकारी अधिकारीहरूको धारणा छ । सर्वोच्चको आदेशलगत्तै हतारमा सुमार्गीको रकम निकासा दिएको राष्ट्र बैंकले समय घर्किएपछि निर्देशन दिने काम गरिरहेको छ । उसको खातालाई निगरानीमा राखी रोक्का राख्ने अधिकार भने राष्ट्र बैंकले प्रयोग गरेको छैन ।

निर्देशन जारी भएको करिब साढे दुई सातासम्म पनि पैसा फिर्ता नभएपछि राष्ट्र बैंकलाई चौतर्फी दबाब परेको छ । यही कारण राष्ट्र बैंकले सम्बन्धित बैंकलाई छलफलमा डाकेर पैसा फिर्ता गर्न निर्देशन दिएको जनाएको छ । बैठकमा बैंकहरूसँग पैसा फिर्ता गर्न सकिने विभिन्न विकल्पबारे छलफल भएको थियो ।

आफ्नै अन्तरिम आदेशलाई सच्याउँदै सर्वोच्च अदालतले सुमार्गीको मुक्तिश्री सिमेन्टका नाममा निकासा भइसकेको रकम पहिलेकै अवस्थामा ल्याउन अर्को आदेश जारी गरेको थियो । यो आदेशपूर्व नै सुमार्गीले नेपाल इन्भेस्टमेन्ट बैंकको रकम झिकेर तीन बैंकमा सारेका थिए । उक्त तीन बैंकको रकम ऋण तिर्ने र अन्यत्र सार्ने काम गरिसकेका छन् । उक्त तथ्य देखाउँदै तीन बैंकले अब रकम फिर्ता गराउन व्यावहारिक कठिनाइ भएको जवाफ राष्ट्र बैंकमा पठाइसकेका छन् । उक्त पैसा केही निक्षेपका रूपमा बाहिरिएको र केही ऋण भुक्तानी भई धितो फुकुवा भएकाले अदालतको निर्देशनबमोजिम पूर्ववत् अवस्थामा ल्याउन कठिनाइ भएको उनीहरूको भनाइ छ । राष्ट्र बैंकले बैंकहरूको जवाफबारे सोमबार सञ्चालक समितिलाई जानकारी गराएको थियो । समितिकै सुझावका आधारमा मंगलबार नियमन विभागले बैंकहरूलाई डाकेर पुनस् निर्देशन दिएको हो ।

राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले बैंकहरूसँग पैसा फिर्ता सम्बन्धमा कार्यप्रगति विवरण माग गरिएको बताए । ‘के कस्तो व्यावहारिक कठिनाइ भएको हो रु, कार्यप्रगति अवस्था कस्तो छ रु भन्ने जानकारी मागिएको हो,’ उनले भने, ‘व्यावहारिक कठिनाइ भएकाले फिर्ता गर्न नसकिएको बैंकहरूले जवाफ दिएका छन् ।’

इन्भेस्टमेन्ट बैंकले आफ्नो बैंकलाई सुमार्गीले ऋण रकम भुक्तानी गरे पनि त्यसलाई सर्वोच्च अदालतको आदेशअनुसार फिर्ता गराइसकेको जनाएको छ । ‘बैंकले उक्त पैसा पूर्ववत् अवस्थामा राखेकोबारे राष्ट्र बैंकलाई जानकारी गराइसकेको छ,’ स्रोतले भन्यो, ‘यसकारण मंगलबार बाँकी तीन वटा बैंकलाई मात्र डाकिएको हो ।’

सुमार्गीले इन्भेस्टमेन्ट बैंकमा रहेको रकममध्ये १० करोड रुपैयाँ महालक्ष्मी विकास बैंक, २५ करोड नेपाल बंगलादेश बैंक र २० करोड रुपैयाँ प्राइम कमर्सियल बैंकमा स्थानान्तरण गरेका थिए । बाँकी करिब २४ करोड रुपैयाँ इन्भेस्टमेन्ट बैंकमै ऋण तिर्ने प्रयोजनमा प्रयोग भएको थियो । इन्भेस्टमेन्टले भने सोही पैसा फिर्ता गरेको जानकारी राष्ट्र बैंकलाई दिएको हो । इन्भेस्टमेन्टले फिर्ता गरेपछि राष्ट्र बैंकले अरू बैंकलाई पनि पनि फिर्ता गराउन ताकेता गरेको जनाएको छ ।

स्रोत नखुलेको भनी राष्ट्र बैंकले ५ वर्षदेखि रोकिदिएको उक्त रकम गत पुस १० मा न्यायाधीश दीपकराज जोशीको एकल इजलासको अन्तरिम आदेशले खुला गरिदिएको थियो । उक्त आदेशको भोलिपल्टै राष्ट्र बैंकका गभर्नर चिरन्जीवी नेपाल, विदेशी विनिमय विभागका प्रमुख, इन्भेस्टमेन्ट बैंक र सुमार्गीबीचको मिलेमतोमा तत्कालै बैंकबाट रकम निकासा भएको थियो । त्यसपछि सुमार्गीले त्यो पैसा विभिन्न बैंकमा निक्षेप तथा ऋण तिर्न प्रयोग गरेको देखिएको छ ।

पुस २४ मा सर्वोच्चको अर्को आदेशले उक्त पैसा पूर्ववत् अवस्थामा राख्न निर्देशन दियो । अघिल्लो आदेशअनुसार रकम निकासा गर्न हतारिएको राष्ट्र बैंक पछिल्लो आदेश कार्यान्वयन गराउन आलटाल गरिरहेको छ । दोस्रो आदेश आएपछि पनि ढिलो गरी राष्ट्र बैंकले इन्भेस्टमेन्ट बैंकलाई पैसा फर्काउन निर्देशन दियो । राष्ट्र बैंकको निर्देशनबमोजिम इन्भेस्टमेन्टले अन्य बैंकहरूलाई पैसा फिर्ता गर्न भन्दै पत्राचार गर्‍यो । ती संस्थाले इन्भेस्टमेन्टको आदेश नमानेपछि गत मंगलबार राष्ट्र बैंकले ती बैंकलाई छुट्टाछुट्टै पत्र काटेर रकम फिर्ता गर्न निर्देशन दिएको थियो । निर्देशन दिएको एक सातासम्म इन्भेस्टमेन्ट बैंकबोहक अरूले पैसा फिर्ता गरेका छैनन् ।

राष्ट्र बैंकले अघिल्लो पटक हतारो गरेको र पछिल्लो आदेश कार्यान्वयन गराउन नसकेपछि अर्थ मन्त्रालयले गभर्नर नेपाल र अन्य अधिकारीहरूमाथि छानबिन गरिरहेको जनाएको छ । अर्थमन्त्री युवराज खतिवडाले सुमार्गीको रकम भएका बैंकहरूको खाता रोक्का राख्न निर्देशनसमेत दिएको जनाएका छन् । कान्तिपुरबाट