आज शहीद दिवस, देशभर शहीदको सम्झना ।

१६ माघ । देश र जनताको हक हितका निम्ति जीवन आहूति गर्ने शहीदहरुप्रति सम्मान गर्दै आज देशभर शहीद दिवस मनाइँदै छ ।

नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन्न नागरिक बनाउन जहानियाँ राणा शासन, निरंकुश पञ्चायती व्यवस्था तथा तानाशाही राजतन्त्रविरुद्धका जनआन्दोलनहरूमा आफ्नो जीवन वलिदान गरेका वीर सपूतहरूको सम्झनामा प्रत्येक वर्ष माघ १६ गते शहीद दिवस मनाइँदै आएको छ ।

वीर शहीदहरू शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठको संघर्षमय जीवन र वलिदानको गाथा र प्रजातान्त्रिक आन्दोलनका अरू योद्धाहरूको योगदानमा शहीद दिवस मनाइएको हो ।

निरङ्कुश जहानियाँ राणा शासनविरूद्ध आफ्नो ज्यानको बलिदान गरेका वीर शहीदको स्मरणमा माघ १० देखि १६ गतेसम्म ‘शहीद सप्ताह’ पनि मनाइँदै आएको छ ।

वि।सं। १९९७ माघ १० गते निरंकुश राणा शासनविरुद्धमा नेपाल प्रजापरिषद् स्थापना गरी जनतालाई आफ्नो हक र अधिकारका लागि क्रान्ति गर्न प्रेरित गर्ने शुक्रराजलाई टेकुस्थित खरीको रूखमा झुन्डयाएर हत्या गरिएको थियो । यस्तै, सोही वर्ष माघ १३ गते सिफलमा धर्मभक्तलाई झुन्ड्याइएको थियो भने माघ १५ गते दशरथ चन्द र गंगालाललाई शोभा भगवतीमा लगी गोली हानी हत्या गरिएको थियो ।

शहीद दिवशको अवसरमा दिने गरिएको सार्वजनिक बिदा ओली सरकारले कटौती गरेको छ । यद्यपि, प्रदेश ३ ले भने शहिददिवसमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।