दुई दिने एथलेटिक्स रेफ्री तालीमको समापन ।


चितवन / माघ १५ / चितवन जिल्ला एथलेटिक्स संघको आयोजनामा चितवनको भरतपुरमा आयोजना गरिएको दुई दिने एथलेटिक्स रेफ्री तालीम सकिएको छ । तालीममा जिल्लाका ३० जना व्यक्तिहरु सहभागी थिए । तालीम पश्चात प्रशिक्षार्थीहरुको परीक्षा लिएर उत्तीर्ण भएका व्यक्तिहरुलाई एथलेटिक्स रेफ्रीको लाइसेन्स प्रदान गरिएको छ । कार्यक्रममा चितवन जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख रामजी ढकालले स्थानीय तहसँग सहकार्य गरी स्थानीय स्तरमा एथलेटिक्सका रेफ्रीहरु उत्पादन गर्ने तयारी भइरहेको बताए । एथलेटिक्सका रेफ्रीहरुको संख्या थोरै भएकाले ईच्छुक व्यक्तिलाई प्रशिक्षण दिँदै रेफ्री उत्पादनमा पहल गर्ने ढकालको भनाइ छ । तालीम समापनका क्रममा एथलेटिक्सका वरिष्ठ प्रशिक्षक सुशील नरसिंह राणाले रेफ्रीका कारण क्षमतावान खेलाडीले खेलबाट सन्यास लिनुपर्ने अवस्था आउन नदिनका लागि सही तरिकाले खेलाउन आग्रह गरे । रेफ्रीले राम्रो जजमेन्ट गर्न नसकेको अवस्थामा खेल प्रति नै खेलाडीको नैराश्यता आउने राणाले बताए । सो कार्यक्रममा चितवन जिल्ला खेलकुद विकास समितिका पूर्व अध्यक्ष कृष्णप्रसाद महतोले एथलेटिक्स खेलका लागि अन्य विधाका खेलकुदमा भन्दा बढी जनशक्ति चाहिने भएपनि राज्यले एथलेटिक्सका लागि लगानी गर्न कन्जुस्याईँ गरेको बताए । तालीममा एथलेटिक्सका वरिष्ठ प्रशिक्षक सुशील नरसिंह राणा र नेपाल एथलेटिक्स महासंघका पूर्व महासचिव सुनील राजवंशीले प्रशिक्षण दिएका थिए । कार्यक्रम चितवन जिल्ला एथलेटिक्स संघका अध्यक्ष मानबहादुर रजालीको अध्यक्षतामा भएको थियो ।