प्रनिश थापा , चितवन , १० माघ । चितवनमा डेढ लाख मानिसमा कुनै न कुनै मानसिक समस्या रहेको पाइएको छ । आठ वर्षदेखि टीपीओ नेपालले प्राइम कार्यक्रमअन्तर्गत चितवन जिल्लाका सबै स्वास्थ्य संस्थाहरुमा मानसिक समस्याको अध्ययन, अनुसन्धान र उपचार गर्दा निकालेको तथ्यांकअनुसार चितवनका डेढ लाख मानिस अर्थात् जम्मा जनसंख्याको २० प्रतिशतमा कुनै न कुनै मानसिक समस्या रहेको पाइएको हो । टीपीओ नेपालले प्राइम कार्यक्रम अन्तर्गत चितवनमा गरेको कामको प्रगति विवरण सार्वजनिक कार्यक्रममा नसा, स्नायु तथा मानसिक रोग विशेषज्ञ डा। कमल गौतमले चितवनका ९० प्रतिशत मानसिक रोगीहरुले उपचार नपाएको बताए । कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै उनले भने, ‘चितवनका सबै उमेर समूहका मानिसहरु मानसिक समस्याको शिकार भएका छन्, ९५ प्रतिशत आत्महत्या मानसिक समस्याका कारणले भइरहेको छ ।’ उनका अनुसार मानसिक समस्याका बहुआयामिक कारण छन् । वैदेशिक रोजगार, बेरोजगारी, गरिबी, लागू पदार्थ सेवन, वंशाणुगत, तनाव, जीवनपद्धति लगायतका कारणले मानसिक समस्या विकराल बन्दै गएको उनी बताउँछन् । कार्यक्रममा टीपीओ नेपाल द्वारा चितवनमा सञ्चालन गरेको प्राइम कार्यक्रमका संयोजक नगेन्द्र लुइँटेलले स्वास्थ्यकेन्द्रबाटै मानसिक समस्याहरु समाधान गर्न सकिने बताए । मानसिक समस्याको विषयमा कार्यपत्र प्रस्तुत गर्दै उनले भने, ‘चितवनमा स्वास्थ्य संस्थामा आउने जम्मा बिरामीमध्ये ३ प्रतिशत मानसिक समस्याले आइरहेका छन् ।’
उनले प्राइम कार्यक्रम छिटै फेजआउट हुने भएकाले मानसिक समस्याको समाधानको जिम्मा स्थानीय सरकारको भएको बताए । उनले भने, ‘बढ्दो मानसिक रोगको समाधान स्वास्थ्य संस्थाहरुबाटै सम्भव छ, त्यसका लागि हरेक स्थानीय तहमा एक जना काउन्सेलर आवश्यक छ ।’ उनका अनुसार मानसिक समस्या स्वास्थ्य समस्यामात्र नभई सामाजिक, आर्थिक, पारिवारिक सबै क्षेत्रसँग सम्बन्धित रहन्छ । कार्यक्रममा प्रदेश ३ स्वास्थ्य निर्देशनालयका प्रतिनिधि यदुचन्द्र घिमिरेले मानसिक रोगी खुल्न नचाहँदा समस्या भएको बताए । टीपीओ नेपालका कार्यकारी निर्देशक सुरज कोइरालाले बढ्दो तनावले मानसिक समस्या समाजमा बढिरहेको बताए । चिन्ता, तनाव, उदासीपन, नैराश्य, आत्मविश्वासको कमी, खानपिनको व्यवहारको असर, लागू पदार्थको बढ्दो प्रयोगलगायतका कारणले पछिल्लो समय मानसिक समस्या भयावह बन्दै गएको उनीहरुको तर्क थियो । विश्व स्वास्थ्य संगठनकाअनुसार मानसिक समस्याले गर्दा हरेक ४० सेकेन्डमा एक जनाले आत्महत्या गरिरहेका छन् । संगठनले २०२० पछि हरेक २० सेकेन्डमा एक जनाले मानसिक समस्याका कारण आत्महत्या गर्ने आँकलन गरेको छ । टीपीओ नेपालको प्राइम कार्यक्रमअन्तर्गत चितवनको भरतपुर महानगरमा एक हजार ६८१ जनाले मानसिक समस्या उपचार गराइरहेका छन् । त्यस्तै, माडीमा ३१२, कालिकामा २८१, रत्ननगरमा ४४८, खैरहनीमा २७३, राप्तीमा २५६ र इच्छाकामनामा १२४ जनाले उपचार गराइरहेका छन् । मानसिक रोग विशेषज्ञ डा। गौतमले मानसिक समस्या लुकाउने प्रचलन समाजमा अझै कायम रहेको बताए । उनले भने, ‘रोगलाई लुकाउने, धामीझाँक्री लगाउने प्रचलन समाजमा व्याप्त छ, जसले गर्दा मानसिक रोगी झन्झन् बढिरहेका छन् ।’ चितवन जिल्लामा हाल ६ लाख बढी जनसंख्या रहेको छ ।