महोत्सवको नवौँ दिन करिब ४५ हजार दर्शकले महोत्सव अवलोकन गरे

चितवन/समापनको मिति नजिकिदै गर्दा चितवन महोत्सव अवलोकनका लागि दर्शकहरुको आकर्षण झनै बढ्दै गएको छ । चितवन महोत्सवको नवौँ दिन बिहीबार मात्रै करिब ४५ हजार दर्शकले महोत्सव अवलोकन गरेका मूल संयोजक सहनलाल प्रधानले जानकारी दिए । बिहीबारसम्म करिब साढे चार लाख दर्शकले महोत्सव अवलोकन गरिसकेका उल्लेख गर्दै प्रधानले महोत्सवमा दर्शकहरुको सोचेको भन्दा राम्रो उपस्थिति भएको बताए ।

चितवनको ब्राण्ड बनिसकेको महोत्सवमा चितवनबाट मात्रै नभएर छिमेकी जिल्लाहरुबाट समेत अवलोकनकर्ताहरु आएका प्रधानले बताए । बिहीबार कृषि प्रदर्शनीको समापन तथा सांस्कृतिक कार्यक्रमहरुको समापन गरिएको प्रधानको भनाइ छ । कृषि प्रदर्शनीको समापन प्रदेश नम्बर ३ का कृषि मन्त्री दावादोर्जे लामाले गरेका हुन् भने सांस्कृतिक कार्यक्रमको समापन मिस नेपाल २०१९ श्रृंखला खतिवडाले गरेकी थिइन् । सांस्कृतिक कार्यक्रमको समापनका अवसरमा मिस युनिभर्स २०१९ मनिता देवकोटा, गोपाल सुन्दरलाल कक्षपतीलगायतको सहभागिता रहेको थियो । सांस्कृतिक कार्यक्रमभरी आयोजना गरिएका नृत्य, लोकदोहोरी प्रतियोगिताका विजयी प्रतियोगीहरुले बिहीबार समेत आफ्नो प्रस्तुती राखेका थिए । चितवनको गौरव र गरिमामय प्रस्तुतीको रुपमा प्रत्येक दुई÷दुई वर्षमा आयोजना हुँदै आएको छ । महोत्सव परिसर भित्र रहेका सांस्कृतिक भवन, फन पार्क, कृत्रिम चिडियाघर तथा जलयात्रामा दर्शकहरुको सहभागिता अत्यधिक रहेको थियो । उद्योग वाणिज्य संघ–चितवन, भरतपुर महानगरपालिका र जिल्ला समन्वय समिति चितवनको संयुक्त आयोजनामा नारायणी नदी किनारमा महोत्सव सञ्चालन भइरहेको छ । महोत्सवमा यस पटक ५ सय ७० वटा स्टल रहेका छन् । करिव पाँच लाख दर्शकले अवलोकन गर्ने लक्ष्य लिइएको महोत्सवमा करिब २५ करोडको रुपैयाँको कारोबार हुने आयोजकको अनुमान छ ।