चितवन महोत्सवमा दर्शकको भिड बढदैं ।

पाँचौ दिनः ३५ हजार दर्शकले अवलोकन गरे

चितवन, पुस २९– चितवन महोत्सवको पाँचौं दिन आज (आइतबार) ३५ हजार दर्शकले अवलोकन गरेका छन् ।

भोलि (सोमबार) र पर्सी मंगलबार पनि अवलोकनकर्ताको चाप अत्याधिक बढ्ने अनुमान गरिएको छ । माघे संक्रान्ती मेला भर्न देवघाट आउनेहरुले चितवन महोत्सव अवलोकन गर्ने हुँदा चाप बढ्न सक्ने अनुमान गरिएको छ । हिजो चौथो दिन शनिबार एकैदिन ५२ हजारले महोत्सव अवलोकन गरेका थिए ।

उद्योग वाणिज्य संघ–चितवन, भरतपुर महानगरपालिका र जिल्ला समन्वय समिति चितवनको संयुक्त आयोजनमा भएको महोत्सवलाई टेस्ला एअर कण्डिसले मुख्य प्रायोजन गरेको हो ।
५ सय ७२ वटा स्टल रहेको महोत्सवमा मेड इन नेपाल परिसर, अटो परिसर, सुचना तथा प्रविधि परिसरको छुट्टै आकर्षण रहेको छ ।
महोत्सवअन्तर्गत मेड इन नेपाल परिसर विशेष गरी भिड हुने परिसरका रुपमा देखिएको छ । माइनस ३ सय २१ डिग्रि सेल्सियसमा तयार गरिने लाइभ आइसक्रिम चाख्नकै लागि पनि परिसरमा अवलोकनकर्ताको लाम लाग्ने गरेको छ । आज कलाकार सुनिल थापाले मेड इन नेपाल परिसर अवलोकन गरेका छन् ।
महोत्सवमा परिसरमा आदिवासी जनजातीको पहिचान झल्कने नमुना घरहरु बनाईको छ ।
यस पटकको महोत्सवमा चेपाङ, कुमाल, बोटे र दराई जातीको पहिचान झल्कने घर निर्माण गरिएका छन् । २०५३ सालदेखि दुई वर्षको अन्तरालमा महोत्सव आयोजना हुँदै आएको छ ।
यस पटक महोत्सव करिव ५ लाख दर्शकले अवलोकन गर्ने लक्ष्य लिइएको छ । महोत्सवमा करिव २५ करोडको कारोबार हुने अनुमान गरिएको छ ।

महोत्सवमा पर्यटन गोष्ठी

१२ औं चितवन महोत्सव अन्तर्गत टुरिजम एण्ड डिजिटल ट्रान्सफरमेसन ग्रेटर चितवन एरिया विषयक गोष्ठी सम्पन्न भएको छ ।

गोष्ठीमा नेपाल पर्यटनवर्ष २०२० का संयोजक सुरज वैद्य, नेपाल पर्यटन बोर्डका निर्देशक दिपककुमार जोशी, पर्यटन वर्ष २०२० का लागि प्रदेश नम्बर ३ का संयोजक राजु क्षेत्रीको उपस्थिती रहेको थियो ।

गोष्ठीमा रामचन्द्र सेढाई र विश्वप्रसाद सुवेदीले कार्यपत्र प्रस्तुत गरे । गोष्ठीमा नेपालको पर्यटन प्रवद्र्धनका लागि डिजिटल उपयोगका बारेमा चर्चा गरिएको थियो ।

कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष एवंम महोत्सव मूल आयोजक समिति संयोजक सहनलाल प्रधानले चितवन महोत्सव अन्तर्गत प्रकाशन गरिएको पर्यटक गाइड बुक चितवनमा पर्यटकको आगमन बढाउने सम्भावना उजागर गर्न फलदायी हुने अपेक्षा लिएको बताए ।