रुपन्देहीमा प्रहरीले चलाएको गोली लागी एकको मृत्यु

बुटवल,२९ पुस । सिद्धार्थनगर नगरपालिका–१०, शंकरपुरमा प्रहरीले चलाएको गोलीबाट एक जनाको मृत्यु भएको छ। गस्तीमा खटिएको प्रहरी टोलीमाथि अकस्मात् गोली प्रहार भएपछि जवाफी कारबाहीमा स्वरुप गोली प्रहार गर्दा तस्करको मृत्यु भएको रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक ९एसपी० हृदय थापाले जानकारी दिए। भारतीय नम्बर प्लेटको मोटरसाइकलमा आएका करिब ३५ वर्षका तस्करले प्रहरीमाथि गोली चलाएपछि तत्कालै उनीमाथै जवाफी कारबाही गरिएको थापाले जनाए। प्रहरीको जवाफी कारबाहीमा घाइते भएका उनलाई अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको र उनको शव हाल पोष्टमार्टमका लागि भीम अस्पताल, रुपन्देहीमा राखिएको पनि एसपी थापाले जानकारी दिए। मृतक भारतीय नागरिक हुनसक्ने प्रहरीको अनुमान छ। घटनास्थलबाट प्रहरीले अटोमेटिक लोडेड पेस्तोल तथा उनले प्रयोग गरेको युपी ५३ एच २०२८ नम्बरको भारतीय मोटरसाइकल बरामद गरेको छ। प्रहरी उपरिक्षक थापाका अनुसार तस्करले चलाएको गोली लागि एक प्रहरी जवान घाइते भएका छन्। उनको बायाँ पाखुरामा गोली लागेको छ।