चितवन महोत्सव २०७५ को सम्पूर्ण तयारी पुरा,पुर्ब प्रम प्रचण्डले आज ११ बजे उदघाटन गर्दै ।

सुर्य बराल / चितवन / पौंष २५ / चितवनको गौंरव र गरिमामय प्रस्तुति चितवन महोत्सव २०७५ को तयारी पुरा भएको छ । उद्योग वाणिज्य संघ–चितवन, भरतपुर महानगरपालिका र जिल्ला समन्वय समिति चितवनको संयुक्त आयोजनमा हुन लागेको महोत्सवको १२ औं संस्करणको तयारी पुरा भएको आयोजक उवासंघ चितवनका अध्यक्ष सहनलाल प्रधानले जानकारी दिएका छन् । प्रदर्शनी स्थल नारायणी नदी किनारमा महोत्सव परिसर झकिझकाउपूर्ण बनाईएको छ । निकै आकर्षक साजसजावटसहित तयार भइरहेको नारायणी नदीकिनारको प्रदर्शनी स्थलमा यस पटक ५ सय ९० वटा स्टल रहने भएका छन् । स्टल धेरै भएकाले परिसर विगतमा भन्दानि नै फराकिलो बनाइएको छ । महोत्सव परिसरमा स्टल बुक गरेकाहरुले सामान ल्याउने कार्य सकिएको छ । आज पौष २५ गतेदेखि माघ ४ गतेसम्म सञ्चालन हुने महोत्सवको शोभायात्रामा ३०० भन्दा बढी संघसंस्था सहभागि हुने आयोजकले जनाएको छन् । महोत्सवको शोभायात्रामा सहभागिता जनाउन आग्रह गर्दै २०० भन्दा बढी संघसस्था तथा ब्यक्तिहरुलाई पत्र काटिएको र पत्राचार गरेका बाहेक पनि धेरै स्वतस्फुर्तरुपमा शोभायात्रामा उल्लेख्य सहभागिता हुनेमा आयोजकहरुले बिश्वास ब्यक्त गरेका छन् । चितवनको पहिचान झल्काउने गरी महोत्सवको मूल प्रवेशद्धारसजाईएको छ । १२ औं संस्करणको महोत्सवलाई भ्रमण वर्ष २०२० लक्षित गर्दै गर्दा प्रवेशद्धारमा पनि त्यसको झल्को देख्न सकिन्छ । चितवनका १० पर्यटकिय गन्तव्यको तस्विर सहितको जानकारी प्रवेशद्धारमा राखिएको छ । यसपाली चितवन महोत्सव परिसरबाट नगरवनसम्म जिप सफारीको समेत व्यवस्था गरिएको छ ।
महोत्सवमा हरेक संस्करणमा आकर्षणको केन्द्र बन्ने आदिवासी जनजातीको पहिचान झल्कने नमुना घरहरुको निर्माण र प्रदर्शनले यस पटक पनि निरन्तरता पाएको छ । आदिवासी जनजाती महासंघ चितवनको संयोजनमा महोत्सव स्थल नारायणी नदी किनारमा आदिवासी जनजातीको पहिचान झल्कने घरहरु निर्माण गरिएका छन् । घरमा आदिवासीको रहनसहन , उनीहरुले प्रयोग गर्ने भाँडा वर्तन , सांस्कृतिक पहिचान झल्कने भेषभूषा समेत प्रर्दशनीका लागि राखिनेछन् । यस पटकको महोत्सवमा कुमाल, बोटे, चेपाङ, र दराई जातीको पहिचान झल्कने घर निर्माण गरिएको छ ।
२०५३ सालदेखि प्रत्येक दुई बर्षमा महोत्सव आयोजना हुँदै आएको छ । यस पटक महोत्सवमा ५ लाख भन्दा बढी दर्शक ले महोत्सव अवलोकन गर्ने लक्ष्य लिइएको छ । महोत्सवमा करिव २५ करोडको कारोबार हुने अनुमान आयोजकहरुको अनुमान छ ।
महोत्सवको आज बुधबार ११ बजे पुर्ब प्रधानमन्त्री समेत रहनुभएका नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गर्नुहुनेछ ।