चितवन राष्ट्रिय निकुञ्जमा प्लास्टिक लैजान नपाइने ।


चितवन । के, तपाईंं चितवन राष्ट्रिय निकुञ्जमा प्रवेश गर्दै हुनुहुन्छ रु निकुञ्ज भित्र प्रवेश गर्दा प्लास्टिक लैजान पाइन्छ या पाइदैन त्यो हेक्का राख्नु त भएको छैनन् रु यदी, राख्नुभएको छैनन् भने राख्नु होस् । हिजो मंगलबार देखि चितवन राष्ट्रिय निकुञ्जले निकुञ्ज क्षेत्रमा प्लास्टिक निषेध गरेको छ । प्लास्टिक खाएर दुर्लभ वन्यजन्तुको मर्ने क्रम बढ्न थालेपछि प्लास्टिकमुक्त क्षेत्र घोषणा गरिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले बताए । ढकालका अनुसार विगत दुई वर्षदेखि कसरामा रहेको मुख्यालयले निकुञ्जमा प्लास्टिक न्यूनीकरणको अभियान थालनी गरेको भए पनि मंगलबार औपचारिक रुपमा निकुञ्जलाई प्लास्टिकमुक्त क्षेत्र घोषणा गरिएको हो । घोषणा भएसँगै अब जंगल घुम्न जाने पर्यटक तथा निकुञ्जभित्र रहेका नेपाली सेना र निकुञ्जका अधिकारीले प्लास्टिक र प्लास्टिकजन्य वस्तु निकुञ्जमा फाल्न पाउने छैनन् । सुरूवाती चरणमा लैजान दिने र फाल्न नदिने तथा केही समयपछि निकुञ्जमा प्लास्टिक निषेध गरिने बताए ।
प्लास्टिकमुक्त घोषणालाई कार्यान्वयन गरी अर्थपूर्ण बनाउन नगरपालिकाले केही कार्ययोजना पनि बनाएको छ । निकुञ्जभित्र सेनाको ५० वटा पोस्ट छन् । ती पोस्टमा बस्ने सेनालाई प्लास्टिक झोलाको विकल्पमा कपडाको झोला प्रयोग गर्न लगाउने, जंगल घुम्न जाने पर्यटकलाई प्लास्टिक र प्लास्टिकजन्य सामग्री निकुञ्जमा नलैजान आग्रह गर्ने, मिनरल वाटरको बोतलको विकल्प खोज्न आग्रह गर्ने र निकुञ्जका ठाउँठाउँमा डस्टविन राख्ने तयारीसमेत गरिएको उनले बताए । घोषणा कार्यक्रमलाई कार्यान्वयन गर्न जनचेतनाको पाटो महत्वपूर्ण रहेकाले प्लास्टिकबाट हुने हानिका बारेमा जनचेतना अभिवृद्धि गर्ने योजना निकुञ्जले बनाएको छ । जनचेतनाका लागि सूचनाको माध्यमको अधिकतम उपयोग गरी टेलिभिजन, रेडियो, सूचना बोर्ड, पोस्टर र स्टिकर बनाएर ठाउँठाउँमा टाँस गर्ने योजना रहेको उनले बताए । बाढीले बगाएर ल्याएको प्लास्टिक र जंगल घुम्न जाने पर्यटकले फालेका प्लास्टिक तथा प्लास्टिकजन्य वस्तुका कारण निकुञ्ज प्रदूषित भएसँगै त्यसले जनावरलाई समेत मृत्युको मुखमा पु¥याएको छ । प्लास्टिक खाएर सबैभन्दा धेरै चरा मर्ने गरेको भेटिएको छ । निकुञ्जमा प्लास्टिक खाएर दैनिक २ वटा चरा मर्ने गरेको संरक्षणकर्मीहरुले बताएका छन् । निकुञ्ज स्थापना भएको लामो समय बितिसक्दा पनि यहाँ संरक्षणको सवालमा अथाह चुनौती छन् । मानव–वन्यजन्तुबीचको द्वन्द्व, राहत प्रक्रिया, नदीजन्य पदार्थमाथिको चाप, पूर्वाधार निर्माण, कर्मचारी आपूर्ति, नदी कटानजस्ता चुनौतीहरु विद्यमान रहेको प्रमुख संरक्षण अधिकृत ढकालले बताए ।