उपत्यकासहित मुलुकभर चिसो

राजधानीका अस्पतालमा बिरामीको चाप

काठमाडौं । उपत्यकासहित मुलुकभर चिसो बढेपछि भाइरलको समस्याले सर्वसाधारण पीडित बनेका छन् । अघिल्लो दिनसम्म स्वस्थ रहेको व्यक्ति भोलिपल्ट बिरामी हुनुको कारण चिसोसँगै वायु प्रदूषण रहेको विज्ञहरूको भनाइ छ ।

‘हुन त मंसिरदेखि माघसम्मको राजधानीको चिसो यहाँका बासिन्दाका लागि सम्झनलायक नै हुन्छ तर यसपटक चिसो अझ बढी भएको छ,’ मौसमविद् मणिरत्न शाक्यले राजधानीसँग भने, ‘एकातिर ओरालो लाग्दो तापमान, अर्कोतिर ठूलो विपत्तिले टहरामा नै जाडो बिताउनेहरूको समस्या भने झन् विकराल देखिएको छ ।’

मौसमविद्का अनुसार यो वर्ष अरू वर्षको भन्दा अलि बढी नै जाडो छ । यो बढ्ने सम्भावना पनि अत्यधिक छ । पुस सुरुदेखि नै तापक्रम घट्दो क्रममा छ । बदलिँदो वातावरणका कारण हुने उतारचढावले जीवन कष्टकर हुँदै गइरहेको जल तथा मौसम विज्ञान विभागकी मौसमविद् विभूति पोखरेलले बताइन् ।

चिकित्सकहरूका अनुसार गत वर्षभन्दा यस वर्ष जाडोका कारण बिरामी हुनेको संख्या बढ्दो क्रममा छ । बिरामीको संख्या अझै बढ्न सक्ने देखिन्छ । बिरामी हुनेमा मुख्यतः नाबालक, सुत्केरी महिला र बूढापाका बढी छन् । चिसोले नवजात शिशुलाई दीर्घकालीन असर पार्छ । सानै उमेरमा बिरामी हुने बच्चाको रोगसँग लड्ने इम्युनिटी पावरमा कमी आउँछ । अझ गर्मीमा भन्दा जाडोमा बच्चाहरू बढी बिरामी हुन्छन् । त्यसैले, शिशु स्वास्थ्यमा ध्यान पु¥याउनु जरुरी रहेको चिकित्सकले बताएका छन् ।

प्रदूषित पानी र खानाले जीवात्माका कारण विभिन्न रोगको सिकार भएको पाइएको डा। केयुर गौतम बताउँछन् । ‘प्रदूषित वातावरणकै कारण आज कैयौं मान्छेले क्यान्सरजस्तो भयानक रोग उपहार पाएका छन्,’ उनले भने, ‘प्रदूषित पानीकै कारण आज कैयौं बालबालिका मृत्युको मुखमा पुगेका छन् ।’

सहरी क्षेत्र खासगरी काठमाडौंको वातावरण मानवीय स्वास्थ्यप्रतिकूल बनिरहेको छ । जाडो मौसमलाई राम्रो मौसमको रूपमा लिए पनि वातावरण प्रदूषण तथा प्राकृतिक प्रकोपले गर्दा महामारी फैलिने अवस्था छ ।
एक अध्ययनअनुसार दिउँसोको समयभन्दा बिहानी र बेलुकीपख वायु प्रदूषण बढी हुने गरेको छ । जसले गर्दा बिहान स्वच्छ हावा लिन ‘मर्निङवाक’ जाने गरेका उपत्यकावासी स्वस्थ होइन, झनै अस्वस्थ बनिरहेका छन् । यसका साथै अध्ययनले वायु प्रदूषणले उपत्यकामा चिसो झनै बढाउने तथा यसले धेरै रोग निम्त्याउने खतरा बढेको देखाएको छ । धुवाँ, धुलोलगायत प्रदूषणले सूर्यका किरण जमिनमा आउन रोकिएपछि यसले चिसो बढाउने र रोग पनि निम्त्याउने गरेको छ । चिसो मौसममा हावा नचल्ने भएकाले प्रदूषण एकै ठाउँमा जम्मा भएर बस्ने गरेको विज्ञहरू बताउँछन् ।

प्रदूषण नियन्त्रणमा सरकारी प्रयास
उपत्यकामा वायु प्रदूषण बढ्दै गएपछि त्यसलाई तत्काल नियन्त्रण गर्न र सरोकारवाला निकायबीच समन्वय गर्न सरकारले ‘शीघ्र कार्यदल’ गठन गरेको छ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले उपत्यकाको वायु प्रदूषण नियन्त्रण गर्ने सम्बन्धमा सम्बन्धित निकायका प्रतिनिधिको उपस्थितिमा कार्यदल बनाएको हो ।
प्रधानमन्त्री कार्यालयले उपत्यकाको वायु प्रदूषण नियन्त्रण सम्बन्धमा वन तथा वातावरण मन्त्रालयले तयार गरेको कार्ययोजना कार्यान्वयनमा ल्याउन सकेको छैन । डेढ वर्षअघि तयार पारिएको कार्ययोजना अझै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा थन्किरहेको छ । राजधानीबाट ।