मेडिकल सिटी भनिएको चितवनको अस्पतालमा खोपको अभाव ।

प्रनिश थापा, चितवन, ११ पौष । आकस्मिकरुपमा प्रयोगमा आउने महत्वपूर्ण खोप तथा औषधिको चितवनमा चरम अभाव देखिएको छ । प्रायः स्वास्थ्य संस्थाहरुमा सहजै पाइने टिटानस खोप, डाइजेपाम, प्याथेडिन इन्जेक्सनहरुको यहाँ अभाव देखिएको हो ।
जिल्लास्थित भरतपुर अस्पतालमा समेत यस्ता औषधिहरु अकस्मात् प्रयोगका लागि स्टक रहेको तर, प्रशस्त मात्रामा भने नरहेको अस्पतालका मेसु डा. कृष्णप्रसाद पौडेलले बताए । केही दिनअघिदेखि नै अभाव भए पनि अहिले समस्या झनै चर्को बन्दै गएको छ । मेडिकल सिटी भनिने भरतपुरमै यस्ता औषधि जन्य वस्तुको अभाव भएपछि स्वास्थ्य क्षेत्रमा चर्चा हुन थालेको छ । महत्वपुर्ण र अत्यावश्यक औषधिको अभावबारे विभाग र मन्त्रालयमा जानकारी गराइएको तर, समस्या समाधान नभएको भरतपुर अस्पतालले जनाएको छ । अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले टेन्डरमार्फत ल्याइएको यस्ता औषधिहरु सप्लायर्सले मागेजति दिन नसकेको बताए । यो देशभरिकै समस्या रहेको सूचना अधिकारी पौडेलले जानकारी दिए । टिटानस जीवाणुबाट हुन सक्ने संक्रमण हुन नदिनका लागि प्रयोगमा आउने टिटानस खोपको अभाव भएको छ । सामान्य खोपका रुपमा लिइने टिटानसको अभावले गर्दा उपचारमा समस्या भएको छ । जटिलदेखि सामान्य चोटपटक र घाउमा पनि टिटानस खोप लगाइन्छ । प्रायः फलामका खिया लागेका वस्तुका कारण हुने चोटपटकमा यो खोप लगाइने चिकित्सकहरु बताउँछन् । यसको असर सीधै नसामा पर्ने भएकाले टिटानस खोपको प्रयोग आवश्यक रहेको चिकित्सकहरु बताउँछन् । यता, भरतपुर अस्पतालका फार्मेसी शाखाका कर्मचारी रामहरी ढकालका अनुसार टिटानससँगै अत्यावश्यक प्रयोगमा आउने डाइजेपाम, प्याथेडिन इन्जेक्सन, ट्रमाडोलहरु पनि अभाव भएका छन् । यी सबै औषधिले दुखाइ कम गर्ने चिकित्सकहरु बताउँछन् ।
भरतपुर अस्पतालको फार्मेसीमा नियमित र सजिलै उपलब्ध हुँदै आएका औषधिहरु पनि अहिले अभाव भएको अस्पताल प्रशासनले स्वीकार गरेको छ । कर्मचारी ढकालले विगत १ महिनादेखि नै उक्त औषधिहरुको अभाव रहेको बताए । धेरै शरीर कम्पन भएर आउने बिरामीका लागि तत्काल डाइजेपाम दिई कम्पन नियन्त्रण गरिने चिकित्सकहरु बताउँछन् । त्यस्तै, ट्रमाडोलले अत्यधिक मात्रामा हुने दुखाइ तत्कालका लागि कम गर्ने उनीहरुको भनाइ छ ।