निर्मला हत्याको पाँच महिना:अनुसन्धानमा चुक्दै प्रहरी

अहिले सम्म के भयो ? पढ्नुहोस् नालीबेली

काठमाडौं। कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको पाँच महिना पुगेको छ । तर, प्रहरीले अझै हत्यामा संलग्नलाई पक्राउ गर्न सकेको छैन । यसबीचमा भएका पटकपटकका अनुसन्धानमा समेत प्रहरी चुक्दै आएको छ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले निर्मला हत्याका विषयमा अनुसन्धान गर्दा प्रहरीबाट बेलाबखत कमजोरी भएको भए पनि हत्याको अनुसन्धानमा उच्चतम विज्ञताको प्रयोग भइरहेको दाबी गरे ।

उनले हत्यामा संलग्नलाई कुनै हालतमा उन्मुक्ति दिने प्रहरीको मनसाय नभएको समेत बताएका छन् । निर्मला हत्यामा संलग्नलाई प्रहरीले ढिलोचाँडो कारबाहीको दायरामा ल्याएरै छाड्ने महानिरीक्षक खनालले बताएका हुन् ।

‘निर्मलाको हत्यामा संलग्नलाई उन्मुक्ति दिने भन्ने त हुँदै होइन, जोसुकै भए पनि छोडिँदैन तर हामीले गरेको अनुसन्धान शून्यमा छ भन्ने पनि होइन, अनुसन्धानका क्रममा प्रहरीबाट पनि कमजोरी भएका छन्,’ महानिरीक्षक खनालले प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा भने ।उनले पत्रकारले समाचारका लागि विभिन्न कोणबाट लिड खोजेजस्तै प्रहरीले समेत विभिन्न कोण र एङ्गलबाट हत्याको अनुसन्धान अघि बढाइरहेको जनाएका हुन् ।

महानिरीक्षक खनालले अनुसन्धानका क्रममा भएका लापर्बाहीका कारण केही प्रहरी बर्खास्तीसमेत भएको, केही कारबाहीमा परेको र केहीलाई कारबाहीको तयारीसमेत गरिएको जनाए ।

खनालले छानबिन समितिको प्रतिवेदन अध्ययन भइरहेको र प्रशासनिक कारबाही गर्न सिफारिस भएकालाई प्रशासनिक कारबाही र फौजदारी कारबाहीको सिफारिस भएकालाई त्यहीअनुसारको कारबाहीको तयारीसमेत गरिएको जनाएका हुन् । तर, कति जनालाई कारबाहीको तयारी भएको छ भन्नेबारे भने उनले केही खुलाएनन् ।

‘अनुसन्धानका लागि गठन भएका विभिन्न समितिका प्रतिवेदन अध्ययन भइरहेका छन्, प्रतिवेदनले दोषी देखाएकालाई प्रशासनिक मात्र होइन फौजदारी अभियोगमा समेत कारबाही गर्ने तयारीमा छौं,’ महानिरीक्षक खनालले भने ।

गत १० साउनमा साथीको घर जान भन्दै हिँडेकी निर्मलाको ११ साउनमा घरनजिकैको उखुबारीमा शव भेटिएको थियो । प्रहरीले केही व्यक्तिलाई हत्यामा संलग्न रहेको भन्दै पक्राउ गरे पनि प्रमाण जुटाउन नसकेपछि छाड्दै आएको छ । यस्तै, प्रहरीमाथि निर्दोष नागरिक पक्राउ गरेर हत्या कबुल गराउन खोजेको भन्ने आरोपसमेत लाग्ने गरेको छ ।

घटनामा प्रहरीले मुख्य अभियुक्तका रूपमा सुरुमै देखाएका दिलीपसिंह विष्टसमेत निर्दोष देखिएका छन् । यस्तै, निर्मला अन्तिमपटक पुगेको भनिएको घरबाट समातिएका रोशनी बम र बबिता बम दिदीबहिनीसमेत प्रहरी हिरासतबाट छुटिसकेका छन् ।

अनुसन्धानका लागि गठन भएका विभिन्न समितिका प्रतिवेदन अध्ययन भइरहेका छन्, प्रतिवेदनले दोषी देखाएकालाई प्रशासनिक मात्र होइन फौजदारी अभियोगमा समेत कारबाही गर्ने तयारीमा छौं सर्वेन्द्र खनाल, प्रहरी महानिरीक्षक

प्रहरीबाट सुरुमै सार्वजनिक गरिएका विष्ट मानसिक सन्तुलन गुमेका व्यक्ति भएको दाबी गर्दै प्रहरी अनुसन्धानमाथि प्रश्न उठाइएको थियो । प्रहरीले उनलाई घटनाको २४ दिनपछि पक्राउ गरेर सार्वजनिक गरेको थियो । उनीसँगै भीमदत्त नगरपालिका–१८ निम्बुखेडाका चक्रदेव बडूको समेत डीएनए रिपोर्ट मिलेको थिएन ।

केही समयअघि पनि प्रहरीले हत्यामा संलग्न रहेको आशंकामा भीमदत्त नगरपालिका–१८ का २२ वर्षीय प्रदीप रावल र कञ्चनपुरकै विशाल चौधरीलाई पक्राउ गरेको थियो । उनीहरू दुवैको समेत डीएनए म्याच नभएको बुझिएको छ ।
सरकारले निर्मला हत्याका विषयमा अनुसन्धान गर्न केन्द्रीय तहबाटै छानबिन समितिसमेत बनाएर विभिन्न चरणमा छानबिनसमेत गरिसकेको छ । सरकारले गृह मन्त्रालयका सहसचिव हरिप्रसाद मैनालीको नेतृत्वमा उच्चस्तरीय समिति बनाएर छानबिन गरेको थियो ।

यस्तै, प्रहरी प्रधान कार्यालयले समेत हत्या अनुसन्धानका लागि भन्दै विभिन्न समिति बनाएर अनुसन्धान गरिसकेको छ भने केही समिति अनुसन्धानका क्रममा समेत छन् । तर, अनुसन्धानको चुरोसँग भने प्रहरी नजिक पुग्न सकेको छैन ।
अनुसन्धानका लागि भन्दै प्रहरीले हालसम्म दर्जन बढीको डीएनए परीक्षणसमेत गरिसकेको छ । तर, परीक्षणका लागि नमुना लिइएका कसैको पनि नमुना म्याच भएको छैन ।

यसबीचमा प्रहरीले तत्कालीन कञ्चनपुर प्रहरी प्रमुख डिल्लीराज विष्ट, उनका छोरा किरण विष्ट र भीमदत्त नगरका नगर प्रमुख सुरेन्द्र विष्टका भतिजा आयुस विष्टको रगत परीक्षण गर्नेक्रममा निर्मलाको शरीरमा भेटिएको भेजिनल स्वाबसँग कसैको पनि नमुना हालसम्म मिलेको छैन ।

प्रहरी प्रधान कार्यालयकै सिफारिसमा गृह मन्त्रालयले २९ असोजमा कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख विष्ट र प्रहरी निरीक्षक जगदीश भट्टलाई हत्या अनुसन्धानमा लापर्बाही गरेको भन्दै सेवाबाट बर्खास्तसमेत गरिसकेको छ । यस्तै, अनुसन्धानमा गल्ती गर्ने केही प्रहरी अधिकारी निलम्बनमा छन् ।

पछिल्लोपटक मात्रै प्रहरीले दुई जना स्थानीयलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको थियो । तर, उनीहरूको समेत डीएनए नमिलेपछि प्रहरीले अनुसन्धानलाई फरक पाटोबाट समेत अघि बढाइएको भन्दै आएको छ ।
निर्मलाको बलात्कारपछि हत्या भएको प्रहरी अनुसन्धान र स्वास्थ्य परीक्षणबाट पुष्टि भए पनि हत्याराको पहिचान अझै खुल्न सकेको छैन । राजधानीबाट ।