राष्ट्रिय खेलकुदका लागि चितवनबाट खेलाडी छनौट

आनन्द पोखरेल, चितवन, ०८ पुष

आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रदेश स्तरीय खेलकुदमा सहभागी हुन चितवनबाट एक सय ९९ जना खेलाडी छनौट गरिएको छ ।

चितवनबाट छनौट भएका खेलाडीहरुमध्ये एक सय १९ जना पुरुष तथा ८० महिला खेलाडीहरु रहेका छन् । चितवनबाट फुटबल, एथलेटिक्स, मार्सल आर्ट सहित १५ वटा विधामा खेलाडी छनौट गरिएको हो । आगामी माघ महिनामा प्रदेश नम्बर ५ मा हुने राष्ट्रिय खेलकुदमा सहभागी हुनका लागि जिल्लाबाट छनौट भएका खेलाडीहरु प्रदेशमा सहभागी हुने र विजेता खेलाडीले राष्ट्रिय खेलकुदमा भाग लिन पाउने चितवन जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।

जिल्लाबाट फुटबलमा १६ जना महिला तथा १६ जना पुरुष, एथलेटिक्समा आठ जना महिला तथा १२ जना पुरुष, बक्सिङमा ६ जना महिला तथा १० जना पुरुष, टेबल टेनिसमा दुई जना महिला तथा चार जना पुरुष, क्रिकेटमा १४ जना पुरुष छनौट भएका छन् । त्यस्तै, भलिबलमा १० जना महिला तथा १० जना पुरुष, कबड्डीमा १० जना महिला, उसुमा सात जना महिला तथा सात जना पुरुष, कराँतेमा चार जना महिला तथा आठ जना पुरुष, बास्केट बलमा १० जना पुरुष, बुद्धिचालमा दुई जना पुरुष छनौट भएका चितवन जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख रामजी ढकालले जानकारी दिए ।

त्यसैगरी, लङ टेनिसमा एक जना पुरुष, टिआईएफ तेक्वान्दोमा चार जना पुरुष, फुल कन्ट्याक्ट कराँतेमा चार जना महिला तथा ६ जना पुरुष छनौट भएको ढकालले बताए । जिल्ला स्तरीय छनौट सकिएपछि प्रदेश स्तरीय खेलकुदको लागि तयारी भइरहेको उल्लेख गर्दै चितवन जिल्ला खेलकुद विकास समितिका अध्यक्ष गंगालाल लामाले चितवनमा समेत चार खेलको छनौट हुने बताए । लामाका अनुसार चितवनमा उसु, तेक्वान्दो, ब्याटमिन्टन र एथलेटिक्सको प्रदेश स्तरीय छनौटको खेल हुनेछ ।

चितवनमा हुने प्रदेश स्तरीय छनौटका खेलहरु भरतपुरको गेष्ट हाउस चौर, भरतपुर कबर्ड हल तथा जुनियर प्रहरी अधिकृत शिक्षालयमा हुनेछ ।