चितवनको रत्ननगरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको ज्यान गयो ।

 

 चितवन, २९ मंसिर । पुर्वी चितवनको रत्ननगरमा शनिबार भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ । निपनीबाट सौराहा तर्फ जाँदै गरेको बा। ८१। प। ८५०० नम्बरको मोटरसाइकल रत्ननगर नगरपालिका वडा नम्बर १० निपनी चोकस्थित विद्युत् पोलमा ठोक्किँदा मोटरसाइकल चालक राप्ती नगरपालिका–८ का १८ वर्षीय अनिश तामाङको मृत्यु भएको हो । त्यस्तै, सोही मोटरसाइकलको पछाडी सवार अर्का एक घाइते भएका छन् । दुर्घटनामा परी गम्भीर घाइते भएका अनिश लाई उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर लाँदै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । उनीसँगै मोटरसाइकल पछाडि बसेका सोही ठाउँका २५ वर्षीय अनमोल तामाङ गम्भीर घाइते भएका छन् । उनको टाउको र पेटमा गम्भीर चोट लागेको टाँडीस्थित इलाका प्रहरी कार्यालयले जनाएको छ ।