नीलकण्ठ शिव मन्दिरमा श्रीमद्भागवत्गीता ज्ञानविज्ञान महायज्ञ सुरु


मंसिर २६ ।

भरतपुर महानगरपालिका वडा नम्बर १२ को विशाल मार्गमा रहेको नीलकण्ठ शिव मन्दिरमा श्रीमद्भागवत्गीता ज्ञानविज्ञान महायज्ञ सुरु भएको छ । बुधबार बिहान कलशयात्रा सहित निस्किएको शोभा यात्राले नगर परिक्रमा पछि महायज्ञको उद्घाटन गरिएको हो । कार्यक्रमको उद्घाटन देवघाटधामको गलेश्वर आश्रमका पीठाधीश एक हजार आठ स्वामी ज्ञानानन्द सरस्वतीले गरेका थिए । मानव जीवनको सार तत्व गीतामा भएको उल्लेख गर्दै उनले सबै मनुष्यले गीता श्रवण गर्नुपर्ने उल्लेख गरे । भूत, वर्तमान र भविष्यको कुराहरु गीतामा लेखिएको उल्लेख गर्दै उनले गीता श्रवणपछि मानिसले मुक्ति पाउने बताए । कार्यक्रममा प्रदेश नम्बर ३ का सांसद विजय सुवेदीले धार्मिक संस्कृति संरक्षणमा श्रीमद्भागवत्गीता ज्ञानविज्ञान महायज्ञले विशेष भूमिका खेल्ने बताए । चितवन देवभूमि भएकाले यस पूण्य भूमिमा आयोजना गरिने धार्मिक कामका लागि सबैले तनमन धनले सहयोग गर्नुपर्ने सुवेदीको भनाइ थियो । नीलकण्ठ शिव मन्दिरको कलापत्मक पुनर्निर्माण तथा हिन्दु धर्म संरक्षणर्थ लगाइएको महायज्ञ पुष ३ गतेसम्म सञ्चालन हुने महायज्ञ मूल आयोजक समितिका महासचिव हरिहर दवाडीले बताए । करिब एक करोड रुपैयाँ संकलन गर्ने लक्ष्य सहित आयोजना गरिएको महायज्ञको मूल वाचकको रुपमा पण्डित चैतन्य कृष्ण रहेका छन् ।