विविध कार्यक्रम सहित चौतारी साकोसले मनायो सातौँ वार्षिकोत्सव

 

चितवन, ०८ मंसिर । भरतपुर महानगरपालिका वडा नम्बर ३ मा रहेको चौतारी बचत तथा ऋण सहकारी संस्थाले आफ्नो सातौँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ ।

संस्थाले वार्षिक साधारणसभाका क्रममा संस्थाको सामुदायिक भवनको समेत उद्घाटन गरेको छ । संस्थाको भनवको उद्घाटन राष्ट्रिय सहकारी संघका उपाध्यक्ष कंडेलले गरेका हुन् । साधारणसभका क्रममा सहकारीले ज्येष्ठ नागरिक सम्मान, बाल बचतकर्ता सम्मान, असल ऋणी सम्मान, उत्कृष्ट बचत कर्ता सम्मान, कान्छो बालबचतकर्ता सम्मान, कान्छो शेयर सदस्य सम्मान जस्ता कार्यक्रम गरेको थियो । संस्थाले शनिबार आयोजना गरेको साधारणसभाका क्रममा आफ्नो समूहमा रहेका सदस्यका परिवारमा रहेका ८० वर्ष भन्दा माथीका ६ जना ज्येष्ठ नागरिकलाई सम्मान गरेको संस्थाका सूचना तथा सञ्चार संयोजक अर्जुन पुरीले जानकारी दिए ।

त्यस्तै संस्थाको भवन निर्माणमा सहयोग पु¥याएका दाताहरुलाई समेत सम्मान गरिएको पुरीले बताए । आठ सय ३७ जना शेयर सदस्य रहेको चौतारी साकोसको कूल चुक्ता पुँजी एक करोड ९४ लाख ८४ हजार रुपैयाँ रहेको संस्थाका कोषाध्यक्ष दिनेश खनालले बताए । १० करोड ५१ लाख ५७ हजार रुपैयाँ बचत संकलन गरेको संस्थाले नौ करोड ९१ लाख ७२ हजार रुपैयाँ ऋण लगानी गरि एक करोड ६० लाख ३२ हजार रुपैयाँ आम्दानी गर्न सफल भएको छ ।

साधारणसभाका अवसरमा सहकारीले रत्ननगरमा रहेको चेपाङ संरक्षण केन्द्रलाई ३५ हजार रुपैयाँ बराबरको लत्ताकपडा समेत प्रदान गरेको छ । कार्यक्रममा नेफ्कुन सञ्चालक शान्ती अधिकारी, चितवन जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडका अध्यक्ष तेजेन्द्रबहादुर खड्का, प्रभात दिदी बहिनी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सरस्वती कतिला, चौतारी बचत तथा ऋण सहकारी संस्थाका निवर्तमान अध्यक्ष एवम् भवन निर्माण समिति संयोजक विष्णुबहादुर लोहनीलगायतले मन्तव्य राखेका थिए ।

संस्थाका सचिव रामशरण सिलवालले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाका अध्यक्ष कृष्ण पुरीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष शर्मिला खनालले स्वागत मन्तव्य राखेकी थिइन् ।