नेपाल शिक्षक महासंघद्वारा तेस्रो चरणको आन्दोलनको कार्यक्रम सार्वजनिक ।

प्रनिश थापा , चितवन , १ मंसिर । नेपाल शिक्षक महासंघले तेस्रो चरणको आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ । शिक्षिकाहरुलाई दरबन्दी, तलब स्केल, शिक्षक सेवा आयोगलाई संवैधानिक आयोगका रुपमा गठन गर्नुपर्ने , विद्यालय तहको शिक्षालाई तीनवटै तहको सरकारहरुको संयुक्त कार्यसूचीमा राख्नुपर्ने , अस्थायी शिक्षकहरुको आन्तरिक प्रतिस्पर्धा परीक्षाको नतिजा छिटो निकाल्नुपर्ने, सरकारी अनुदानबाट तलब पाउने अस्थायी, राहत, इसिडी, तत्कालीन उमाविका शिक्षक तथा विद्यालय कर्मचारीहरुलाई पोशाक भत्ता तथा दुर्गम क्षेत्रमा कार्यरत शिक्षकहरुको स्थानीय भत्ता र थप पोशाक भत्ताका लागि यसै आर्थिक वर्षको बजेटबाट प्रबन्ध गर्नुपर्ने, कम्तीमा एक दशक एउटै तह र श्रेणीमा कार्यरत शिक्षकहरुको सामूहिक पदोन्नति तथा शिक्षकहरुको तहगत बढुवाको प्रबन्ध गर्नुपर्ने, तत्कालीन उच्च माविमा कार्यरत शिक्षकहरुको दरबन्दी प्रबन्ध गरी स्थायित्वको प्रक्रिया थाल्नुपर्ने , शिक्षा मन्त्रालय र महासंघ बीच विगतमा गठन भई कार्यान्वयनमा आएको शैक्षिक संवाद समन्वय समितिलाई सबै तहमा गठन गरी सक्रिय बनाउनुपर्ने, साविकको पूर्वप्राथमिक तहका तथा प्रारम्भिक बालशिक्षामा कार्यरत शिक्षकहरुको दरबन्दी सिर्जना गरी सेवा, सर्त र सुविधाको सुनिश्चितता गर्नुपर्ने लगायत २६ बुँदे माग राख्दै महासंघले तेस्रो चरणको आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको बताएको छ । तेस्रो चरणका कार्यक्रमअन्तर्गत शुक्रबार जिल्ला समन्वय समिति चितवनमा धर्ना दिएर उनीहरुले बिरोध समेत जनाएका थिए । महासंघले पहिलो चरणको आन्दोलनमा सरकारले कुनै सुनुवाइ नगरेको भन्दै महासंघले मंसिर २१ गतेदेखि काठमाडौँ जाऔँ अभियान चलाउने समेत चेतावनी दिएको छ । प्रथम चरणका आन्दोलनका कार्यक्रमअन्तर्गत उनीहरुले प्रचारात्मक आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो । दोस्रो चरणमा अन्तक्र्रिया र लबिङका कार्यक्रम भएको थियो भने, तेस्रो चरणमा विरोधसहित धर्ना कार्यक्रम रहेको नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रीय प्रतिनिधि पूर्ण पुरीले जानकारी दिए । यता, स्थानीय तहमा शिक्षक–कर्मचारीमाथि अनधिकृत ढंगले स्थानीय सरकारद्वारा शैक्षिक आतंक सिर्जना गरेपछि आफूहरु आन्दोलनमा जानुपरेको महासंघका सचिव धुब्रराज पोख्रेलले बताए ।