भरतपुर कारागारमा कैदीबन्दीलाई ब्यबस्थित गर्न सकस ।

प्रनिश थापा, चितवन , १ मंसिर । चितवन जिल्लाको छिमेकी जिल्ला पूर्वी नवलपरासीमा अदालत र प्रशासन भएपनि ब्याबस्थित कारागार नहुँदा पूर्पक्ष र कैद भुक्तानका लागि समस्या पर्ने गरेको छ । भने, कैद भुक्तानका लागी अभियुक्तलाइ चितवन पठाउदा जिल्ला कारागार भरतपुरमा कैदीबन्दीलाई ब्याबस्थापन गर्न समस्या भएको छ । कारागारको क्षमताभन्दा बढी कैदीबन्दी यहाँ बस्नुपर्दा भरतपुर कारागारमा प्रभावकारी व्यवस्थापन हुन सकेको छैन । जीर्ण भवन र त्यसमाथि पनि क्षमता भन्दा बढी बन्दी बस्नुपर्दा उनीहरुको स्वास्थ्यमा समेत प्रतिकुल असर पर्ने गरेको छ । चाप वृद्धि भएपछि सुत्ने ठाउँको अभाव हुँदा क्रम मिलाएर सुत्नुपर्ने बाध्यता छ । क्षमताभन्दा बढी कैदीबन्दी हुँदा बस्न, खान, सुत्न अभाव छ नै शौचालयमा समेत लाइन लाग्नुपर्ने बाध्यता छ । कारागारमा अहिले क्यान्सर रोग लागेका तीनजना, उच्च रक्तचाप भएका ३६ , मधुमेह भएका २० , हेपाटाइटिस बी रोग लागेका एकजना, हेपटाइटिस सी रोग लागेका १, चर्म रोगका १५० र थाइराइड भएका २ जना बिरामी छन् । बिरामी कक्ष नभएको तथा फोहर व्यवस्थापन गर्न कठिनाई भएका कारण केही समस्या देखिएको कारागार प्रमुख कमलप्रसाद काफ्ले बताए । क्षमता भन्दा बढी कैदीबन्दी भएपछि साउनयता ४८ जनालाई विभिन्न कारागारमा स्थानान्तरण गरिएको छ । भने, पूर्वी नवलपरासीबाट समेत अहिलेसम्म ७५ जना बन्दी चितवन ल्याइएका छन् । चाप बढेका कारण केही समस्या भए पनि व्यवस्थापन गरिएको उनलेे बताए । कारागारको क्षमता २ सय ५५ जनाको रहेको छ । अहिले कारागारमा ६ सय ५२ कैदीबन्दी छन् । जसमध्ये एकजना आश्रित बच्चा, ५९ जना महिला र अन्य पुरुष रहेका छन् ।
मकवानपुरमा पनि उस्तै !
यता, मकवानपुरमा समेत उस्तै अवस्था छ । यहाँ त महिलालाई कैद वा बन्दी गर्न कारागार छैन । यसो हुँदा मकवानपुर प्रहरी मात्र होइन चितवन कारागारले समेत समस्या खेप्नुपरेको छ। अभियुक्त वा कैद तोकिएका महिलालाई जिम्मा लगाउन मकवानपुर प्रहरीलाई चितवन धाउँदै हैरान त छँदैछ चितवन कारागारमा समेत क्षमताभन्दा बढी कैदी हुँदा व्यवस्थापनमा समस्या परेको छ । १५ जना क्षमता भएको चितवन महिला कारागारमा हाल ५७ महिला कैदी रहेको चितवन कारागारले जनाएको छ। ती कैदीमध्ये २६ जना मकवानपुर जिल्ला प्रहरी कार्यालबाट पठाइएको कारागारले जानकारी दिएको छ । मकवानपुरको भीमफेदी गाउँपालिकामा महिलाका लागि निर्मित कारागार छ तर पुरुष बन्दीका लागिमात्र प्रयोग गरिएको छ ।
भीमफेदी कारागारमा दुई वटा ब्लक निर्माण गरिएको छ । ‘क’ ब्लकमा ४३६ जना र ‘ख’ ब्लकमा ४४९ कैदी छन् । एक हजार २५० जना अट्ने क्षमताको कारागार निर्माण गरिएको छ । तर, हाल ८८६ जना कैदी थुनुवामा छन्। ११९ जना थुनुवा र ७६७ जना कैदी रहेको कारागारले जानकारी दिएको छ । क्षमता भन्दा निकै कम कैदी बन्दी भएकाले कारागार खाली जस्तै देखिन्छ । ठाउँ हुँदा पनि मकवानपुर प्रहरीलाई महिला कैदी चितवन नै पुर्‍र्याउनुपर्ने वाध्यता छ । २०२८ सालमा स्थापना भएको कारागारमा हालसम्म पनि महिलाका लागि व्यवस्था हुन सकेको छैन । आर्थिक वर्ष २०७२/०७३ मा १२ जना,आव २०७३/०७४ मा १५ जना र आव २०७४/०७५ मा १७ जना र चालु आर्थिक वर्षको हालसम्म ४ जना महिला कैदीलाई चितवन पठाइएको प्रहरीले जनाएको छ ।