चितवन उद्योग संघले पायो बरिष्ठ उपाध्यक्ष सहित पुर्णता

बरिष्ठ उपाध्यक्षमा राजु पौडल, सदस्यहरुमा हरिप्रसाद भट्ट र ईश्वरीप्रसाद रिजाल चयन

भरतपुर÷चितवन उद्योग संघमा सम्पन्न पदाधिकारी एवं कार्यसमितिहरुको एक विशेष बैठकले संघका उपाध्यक्ष राजु पौडेललाई बरिष्ठ उपाध्यक्ष र संघको सदस्य पदहरुमा हरिप्रसाद भट्ट र ईश्वरीप्रसाद रिजाललाई चयन गरेको छ । चयनसँगै चितवन उद्योग संघले पूर्णता पाएको छ । रिक्त रहेको १ सदस्य र मनोनयन गर्न बाँकी १ सदस्य सहित २ सदस्य थप गरिएको हो । चितवन उद्योग संघको बिधान अनुसार कार्यसमितिको २ वर्षे कार्यकालमा १ वर्षभित्र ६ जना उपाध्यक्षबाट एकजना बरिष्ठ उपाध्यक्ष चुनिने प्रक्रिया रहेको छ । जसको लागि उपाध्यक्षहरुको संघप्रति गरेको योगदान र काम, कर्तव्यको आधारमा गभर्निङ काउन्सिलले बरिष्ठ उपाध्यक्ष चयन गर्ने प्रावधान रहेको छ ।
२०७० बैशाख २१ गते संघको महासचिवको जिम्मेवारी सम्हाल्दै हाल उपाध्यक्ष रहनुभएका पौडेल लाईभकेयर फर्मास्यिूटिकल्स प्रा.लि., फाइटोकेयर ईन्टरनेशनल प्रा.लि., रोज प्रिन्टिङ एण्ड प्याकेजिङ प्रा.लि.का सञ्चालक हुनुहुन्छ भने भट्ट करुणा सोफ एण्ड केमिकल इण्डष्ट्रिज प्रा.लि. र रिजाल रिजाल कंक्रिट ब्लक उद्योगका सञ्चालक हुनुहुन्छ । उहाँहरुलाई चितवन उद्योग संघका अध्यक्ष भेषराज दुवाडीले संघको बिधान अनुसार सपथ ग्रहण गराउनु भएको थियो । उक्त अवसरमा बरिष्ठ उपाध्यक्ष र सदस्यहरुलाई पदीय प्रमाणपत्र समेत प्रदान गरिएको थियो ।
कार्यक्रममा नवनियुक्त बरिष्ठ उपाध्यक्ष राजु पौडेल एवं सदस्यहरु हरिप्रसाद भट्ट र ईश्वरीप्रसाद रिजाललाई चितवन उद्योग संघका निवर्तमान अध्यक्ष भिमबहादुर पाण्डे, गभनिङ्ग काउन्सिलका सह–संयोजक एवं संघका पूर्व अध्यक्ष हरिप्रसाद सुवेदी, जिल्ला अदालन वार एशोसिएनका अध्यक्ष कमलराज पाठक, नेपाल पत्रकार महासंघ चितवन शाखाका अध्यक्ष राधेश्याम खतिवडाले बधाई एवं शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रममा नवनियुक्त बरिष्ठ उपाध्यक्ष राजु पौडेल एवं सदस्यहरु हरिप्रसाद भट्ट र ईश्वरीप्रसाद रिजालले आफूहरुले संघले दिएको जिम्मेवारीले सकारात्मक तबरले पूरा गर्ने र आगामि दिनमा कार्यसमितिका अन्य सदस्यहरुसँग अझ सशक्त तरिकाले सहकार्य गरी अगाडि बढ्ने आफ्नो प्रतिवद्धता मन्तव्यमा व्यक्त गर्नुभएको थियो ।
सो अवसरमा गभर्निङ्ग काउन्सिलका सदस्य एवं पूर्व अध्यक्ष सोमराज मरहठ्ठा, गभनिङ्ग काउन्सिलका सदस्य एवं पूर्व अध्यक्ष वामदेव खनाल, गभनिङ्ग काउन्सिलका सदस्य रामचन्द्र गौतम, नेपाल घरेलु तथा साना उद्योग महासंघ महिला उद्यमी समिति ३ नं. प्रदेश अध्यक्ष तारादेवी काफ्ले, महिला उद्यमी मञ्चका संयोजक रिता ढकाल (घिमिरे), पदाधिकारीहरु, कार्यसमिति सदस्यहरुको उपस्थिति रहेको थियो । संघका अध्यक्ष भेषराज दुवाडीको सभापतित्वमा सम्पन्न कार्यक्रमलाई उद्योग संघका कार्यकारी निर्देशक हरिहर भट्टराईले सञ्चालन गर्नुभएको थियो ।