नारायणगढ–बुटबल सडक चार लेनको हुने

विस्तार गर्न चाइना स्टेट छनोट

काठमाडौं,२८ कात्तिक । पूर्व–पश्चिम राजमार्ग अन्तर्गतको नारायणगढ–बुटबल खण्ड विस्तार गर्ने जिम्मा चिनियाँ कम्पनीले पाउने देखिएको छ। सडक विभाग अन्तर्गतको एसियाली विकास बैंक ९एडीबी० निर्देशनालय नारायणगढ–बुटवलसडक खण्ड विस्तारका लागि आह्वान गरेको बोलपत्रमा चीनको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले न्यून लागत कबुल गरेर ठेक्का प्राप्त गर्न लागेको हो।निर्देशनालयले एक सय १३ किलोमिटर खण्ड दुई प्याकेजमा विभाजन गरी बोलपत्र आह्वान गरेको थियो। नारायणगढ–दाउन्ने ६५ किलोमिटर र दाउन्ने–बुटवल ४८ किलोमिटर यी दुई खण्डमै कर्पोरेसनले न्यून अंक कबुल गरेको निर्देशनालयले जानकारी दिएको छ। कर्पोरेसनले नारयाणगढ–दाउन्ने सडकखण्ड स्तरोन्नति गर्न ब्याजसहित नौ अर्ब १३ करोड १८ लाख ९५ हजार रुपैयाँ र दाउन्ने–बुटबल खण्डका लागि सात अर्ब ८६ करोड ३४ लाख रुपैयाँ कबुल गरेको हो।

निर्देशनालयले उक्त खण्ड स्तरोन्नति गर्न २०७५ वैशाख ७ गते बोलपत्र आह्वान गरेको थियो। दुवै खण्डमा नौ÷नौ वटा कम्पनीले प्रस्ताव पेस गरेका थिए। प्राविधिक मूल्यांकनमा नारायणगढ–दाउन्ने खण्डका लागि ६ कम्पनी र दाउन्ने–बुटवल खण्डमा सात कम्पनी सूचीकृत भएका थिए। आर्थिक मूल्यांनमा चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले सबैभन्दा न्यून अंक कबुल गरेको छ। सार्वजनिक खरिद ऐनअनुसार प्राविधिकरूपमा सबल देखिएका कम्पनीमध्येमा न्यून अंक कबुल गर्ने कम्पनीले ठेक्का पाउने व्यवस्था छ।

प्राविधिक तथा आर्थिकरूपमा सवल देखिएकाले कर्पोरेसनले नै नारायणगढ–बुलटबल सडक विस्तारको ठेक्का पाउने निश्चित छ। कर्पोरेसनले नाराणगढ–बुटबल खण्डको दुवै प्याकेजमा न्यून लागत कबुल गरेको निर्देशनालयले कात्तिक २७ गते सार्वजनिक सूचना जारी गरेको छ। सार्वजनिक सूचना जारी भएको ७ दिनभित्र प्राविधिकरूपमा सबल भएका तर आर्थिक प्रस्तावका कारण ठेक्का प्राप्त गर्न नसकेका कम्पनीलाई दाबी बिरोध गर्न समय दिइएको निर्देशनालयका उपनिर्देशक सुरेश पौडेलले बताए।

‘निर्देशनालयले कर्पोरेसनले न्यून अंक कबुल गरेको ठम्याइसहित निष्कर्ष निकालेको छ’, पौडेलले भने, ‘सात दिनको समयभित्र अन्य कम्पनीले यस विषमा दाबी बिरोध गर्न सक्नेछन्।’ उक्त अवधिमा कुनै प्रकारको दाबी बिरोध नपरे निर्देशनालयले कर्पोरेसनसँग ठेक्का प्रक्रिया अघि बढाउने छ। पौडेललका अनुसार कर्पोरेसनलाई २८ दिनको समय दिएर ठेक्का सम्झौता गर्न पत्र पठाइनेछ। निर्देशनालयले डिसेम्बर भित्रमा ठेक्का सम्झौतगरी निर्माण कार्य अघि बढाउने लक्ष्य लिएको छ। निर्माण प्रक्रिया अघि बढेको साढे तीन वर्षमा सडक विस्तार हुनेछ।
आजको अन्नपूर्णपोष्टमा खबर छ ।

नारायणगढ–बुटवल सडक खण्ड हाल दुई लेनको छ। यसलाई निर्देशनालयले चार लेनमा स्तरोन्नति गर्न लागेको हो। सडक विस्तारका लागि एडीबीको ऋण सहयोग गर्नेछ। एडीबीले कुल लागतको ८५ प्रतिशत रकम ऋण उपलब्ध गराउनेछ। अपुग रकम नेपाल सरकारले व्यहोर्ने छ। एडीबीले ३२ वर्षका लागि १।५ प्रतिशत व्याजमा ऋण उपलब्ध गराउनेछ।