चितवनको ऐतिहासिकस्थल वाल्मीकी आश्रम उचित प्रचारप्रसार अभावमा ओझेलमा ।

प्रनिश थापा , चितवन , २७ कार्तिक । चितवन राष्ट्रिय निकुञ्जभित्र रहेको नेपालको एक महत्वपूर्ण धार्मिक, पौराणिक तथा ऐतिहासिक स्थल वाल्मीकी आश्रमको उचित प्रचारप्रसार र विकास हुन नसक्दा ओझेलमा परेको छ । आश्रम ओझेलमा परेपछि मन्दिर आसपासमा पुरानो इनार, सीताले प्रयोग गरेको सिलौटो र लोहोरो, गाग्री राख्ने राख्ने ढुङ्गा, लव–कुशको जन्मस्थल, लवकुशले अश्वमेध यज्ञको घोडा पक्रिएर बाँधेको खम्बा, वाल्मीकी ऋषिले लवकुशलाई शिक्षा प्रदान गरेको स्थल (पाठशाला) जस्ता पुरातात्विक धार्मिक वस्तु , ८८ हजार ऋषिहरुले हवन गरेको कुण्ड, विष्णु चक्र, प्राचिन हवनद्वार लगायतका पुरातात्विक स्थल र वस्तुहरुको उचित संरक्षण र सम्बद्र्धन हुन नसक्दा जीर्ण बन्दै गएका छन् । नेपाल र भारत दुवै देशका पुरातत्वविद्को संयुक्त टोलीले सन् १९६५ मा प्राचीन वाल्मीकी आश्रम यहाँ रहेको पत्ता लगाएको सामानहरु समेत यतिबेला खतरा बन्दै गएको छ । पुरातात्विक वस्तुहरुलाई चलाउने , केर्ने र मेट्ने गर्दा तीनको अस्तित्व नै नाश हुने खतरा रहेको छ भने ती वस्तुहरुको रेखदेखका लागि आश्रममा कोही पनि छैनन् । वाल्मीकी आश्रमको उचित विकास हुन नसक्नुको मुख्य कारण प्रचारप्रसारको अभाव र विकट भौगोलिक अवस्था हो । ऋषि र सीतामातासँग सम्बन्धित रहेको उक्त आश्रममा पुग्नको लागी मात्रै करिब सात किलोमीटर पार गर्नुपर्ने हुन्छ । नवलपरासी जिल्लाको त्रिवेणीमा रहेको गण्डक ब्यारेज पुल तरेर भारतको वाल्मीकी नगर हुँदै डुंगा तरेर एक घण्टा जंगलको बाटो पैदल हिंडेर मात्रै नेपालको बाटो हुँदै आश्रममा पुग्न सकिन्छ । भारतको लागी भने आश्रममा पुग्न धेरै नै सहज छ । भारतले आश्रममा पुग्ने बाटो कच्ची नै भएपनि धेरै सहज बनाएको हो । सीताको जन्मथलो जनकपुरधाम नेपालकै प्रसिद्ध धार्मिक पर्यटकीयस्थल मध्यका रुपमा परिचित छ । तर, सीताले लामो समय बिताएको, सीता पाताल प्रवेश गरेको, लव–कुश जन्मेको जन्मथलो र रामायण काव्यको रचना भएको स्थल, वाल्मीकी आश्रमप्रति भने सम्बन्धित निकायको ध्यान अझै पुग्न सकेको छैन । यस धार्मिक स्थलमा नेपालबाट सोझै पुग्ने बाटो नहुँदा धार्मिक पर्यटकको संख्यामा समेत कमी हुँदै गएको छ । केही समय पहिला त्रिवेणीको गजेन्द्र मोक्षधामबाट नारायणीमा झोलुंगे पुल बनाउने पहल समेत भएको थियो । आश्रमलाई त्रिवेणीधाम सँग जोड्नका लागी प्रयास भएपनि चितवन राष्ट्रिय निकुञ्ज पर्ने भएकाले पुल अझैसम्म निर्माण हुन सकेको छैनन् ।