एक महिनाको अवधिमा २९ वटा सवारी दुर्घटना

१५ जनाले ज्यान गुमाए ।

चितवन , २६ कार्तिक । चितवनमा सवारी दुर्घटना बढ्दै गएको छ । दशै सुरु भएयता तिहार सकिएको भोलिपल्टसम्म ठुला साना गरी झन्डै २९ वटा सवारी दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक बेद प्रसाद गौतमका अनुसार उक्त दुर्घटनामा परी ७९ जना घाइते भएका छन् । यस्तै , चितवन ट्राफिकले चार्डपर्वलाइ लक्षित गर्दै विशेष ट्राफिक सुरक्षा योजना बनाएपछि सवारी नियम उल्लंघनमा समेत अघिल्लो बर्षहरुमा भन्दा यस बर्ष ह्वात्तै कमी आएको छ । मापसे गरी सवारी चलाउने ४५ जनाबाट ४५ हजार रुपैयाँ राजश्व समेत संकलन गरिएको छ । सिट क्षमता भन्दा बढी यात्रु बोक्ने ५७ वटा सवारी साधनलाई आवश्यक कारबाही गरी ५७ हजार रुपैयाँ जरिवाना गराइएको छ । यस्तै, बढी भाडा असुल्ने ९३ वटा गाडी बाट समेत ट्राफिकले एक लाख ३६ हजार ५ सय रुपैयाँ यात्रुलाई फिर्ता गराइएको प्रहरी प्रमुख गौतम बताउँछन् । चाडपर्व सुरु भएसंगै जिल्लामा बढाएको सक्रियताका कारण यात्रुहरू बिचौलीयाका कारण ठगिन समेत पाएका छैनन् ।